भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपालमा चिनीको आपूर्ति व्यवस्थापनमा समस्या देखिन थालेको छ । स्थानीय उद्योगबाट दैनिक औसत २५० क्विन्टल चिनी बजारमा पठाइए पनि उक्त चिनी प्रत्यक्ष रूपमा उपभोक्तासम्म नपुगेको पाइएको छ ।
भारतबाट चिनी आयातमा प्रतिबन्ध लागेपछि स्थानीय उद्योगको उत्पादन बढेर बजारमा आउन थालेको भए पनि व्यापारीहरूले चाडपर्वको बहाना बनाएर चिनी गोदाममा थन्क्याएको आरोप लागेको छ । यसले गर्दा बजारमा स्वदेशी चिनीको अभाव देखिएको र तस्करीमार्फत भित्रिएको भारतीय चिनी महँगो मूल्यमा बिक्री भइरहेको बताइएको छ ।
सीमावर्ती भारतीय बजार जोगवनीमा प्रतिकिलो करिब ७५ रुपैयाँमा पाइने चिनी विराटनगर तथा आसपासका नेपाली बजारमा भने १०५ देखि ११० रुपैयाँसम्म बिक्री भइरहेको छ । व्यापारी स्रोतका अनुसार भारतबाट तस्करी गरी ल्याइएको चिनी नै अहिले बजारको माग धानिरहेको छ ।
भारतले १३ मेदेखि ३० सेप्टेम्बर २०२६ सम्मका लागि चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि सुनसरीस्थित इस्टर्न सुगर मिलबाट मात्रै दैनिक औसत २५० क्विन्टल चिनी बजारमा पठाइँदै आएको छ । तर उक्त चिनी उपभोक्ताको पहुँचमा नपुगी व्यापारीका गोदाममा थन्किएको दाबी गरिएको छ ।
व्यावसायिक स्रोतका अनुसार उद्योगबाट प्रतिकिलो ९५ रुपैयाँ ५ पैसाको दरमा बाहिरिएको चिनी दसैं, तिहार र छठ पर्वका बेला महँगो मूल्यमा बिक्री गर्ने उद्देश्यले भण्डारण गरिएको छ । यही अवस्था कायम रहे चाडपर्वको समयमा चिनीको मूल्य प्रतिकिलो १६० रुपैयाँसम्म पुग्न सक्ने व्यवसायीहरूको अनुमान छ ।
इस्टर्न सुगर मिलका प्रशासन प्रमुख रितेश अग्रवालले उद्योगबाट बाहिरिएको चिनी कहाँ पुग्छ भन्ने विषय उद्योगको सरोकार नभएको बताए । उनका अनुसार उद्योगले यस वर्ष १९ लाख १३ हजार क्विन्टल उखु क्रसिङ गरी १ लाख ७५ हजार ६०० क्विन्टल चिनी उत्पादन गरेको छ ।
भारतबाट चिनी आउन रोकिएपछि उद्योगबाट चिनी बाहिरिने क्रम बढेको अग्रवालले बताए । तर बजारमा चिनीको अभाव देखिनु र मूल्य बढ्नुको कारण खोज्ने जिम्मेवारी स्थानीय प्रशासन तथा सम्बन्धित निकायको भएको उनको भनाइ छ ।
भारतले प्रतिबन्ध लगाएयता इस्टर्न सुगर मिलबाट मात्रै करिब ४० हजार क्विन्टल चिनी बजारमा गएको उद्योगको तथ्यांक छ । विराटनगर, सुनसरी, झापा, काठमाडौं, सिन्धुली, नारायणघाट र धनकुटालगायत क्षेत्रका व्यापारी तथा बिस्कुट, कन्फेक्सनरी र जुस उद्योगका नाममा चिनी पठाइएको उद्योगले जनाएको छ ।
तर व्यापारीका नाममा बाहिरिएको चिनी बजारमा नदेखिएपछि तस्करीबाट आएको भारतीय चिनीमा बजार निर्भर हुन पुगेको व्यवसायीहरू बताउँछन् । विराटनगरका एक थोक व्यापारीका अनुसार स्वदेशी चिनी सहज रूपमा उपलब्ध नभएकाले भारतीय चिनी नै बिक्री गर्नुपर्ने अवस्था आएको छ ।
उनका अनुसार जोगवनीमा पछिल्लो समय चिनीको मूल्य बढेर ७५–७६ रुपैयाँ पुगेको छ । तस्करीमार्फत नेपाल भित्रिँदा त्यही चिनीको लागत करिब १०० रुपैयाँ पुग्ने र बजारमा १०५ देखि ११० रुपैयाँसम्म बिक्री हुने गरेको छ ।
भारतले चिनी निर्यात रोकेपछि सीमावर्ती क्षेत्रबाट तस्करीसमेत बढेको छ । सशस्त्र प्रहरी बलका अनुसार साउन तेस्रो सातामा मात्रै ७ लाख ८० हजार २५५ रुपैयाँ बराबरको १० टन अवैध चिनी बरामद गरिएको छ । असार महिनामा भने २ लाख ८४ हजार ८७० रुपैयाँ बराबरको ४ टन चिनी बरामद भएको थियो ।
नेपालमा चिनीको मूल्य भारतको तुलनामा बढी हुनुमा उच्च भन्सार महसुल र कर पनि कारण रहेको व्यवसायीहरूको भनाइ छ । नेपालले चिनी आयातमा १५ प्रतिशत भन्सार महसुल र भ्याट लिँदै आएको छ । यसका कारण भारत र नेपालको मूल्यमा प्रतिकिलो २५ देखि ३० रुपैयाँसम्म अन्तर हुने र तस्करी बढ्ने व्यवसायीहरूको दाबी छ ।
यसअघि सरकार र निजी क्षेत्रले भारतको प्रतिबन्धपछि पनि नेपालमा पर्याप्त चिनी मौज्दात रहेको दाबी गरेका थिए । नेपाल चिनी उत्पादक संघले चालु क्रसिङ सिजनमा १३ वटा उद्योगबाट १ लाख ९० हजार ८७० टन चिनी उत्पादन भएको र करिब १ लाख ८ हजार टन मौज्दात रहेको जनाएको थियो ।
तर बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने काम भइरहेको उपभोक्तावादीहरूको आरोप छ । उनीहरूले सरकारसँग प्रभावकारी बजार अनुगमन, आपूर्ति व्यवस्थापन र कालोबजारी नियन्त्रण गर्न माग गरेका छन् ।