काठमाडौं । काठमाडौंको एक फलफूल पसलबाट प्रहरीले हुण्डी कारोबारको आशंकामा ८१ लाख रुपैयाँभन्दा बढी रकमसहित पर्साका एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको कुलेश्वरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र साह तुराहा रहेका छन् ।
काठमाडौं महानगरपालिका–१४, कुलेश्वरस्थित फलफूल मण्डीमा रहेको आँचल फ्रुट सेन्टरमा स्रोत नखुलेको रकममार्फत हुण्डी कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले मंगलबार पसलमा छापा मारेको थियो ।
प्रहरी वृत्त कालीमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, कालीमाटी शाखाबाट खटिएको संयुक्त टोलीले गरेको खानतलासीका क्रममा तुराहा सञ्चालक रहेको फलफूल पसल तथा उनको डेराबाट गरी ८१ लाख १४ हजार १८० रुपैयाँ बरामद भएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद रकममध्ये स्रोत नखुलेको नेपाली नगद ७६ लाख २७ हजार ३०० रुपैयाँ र भारतीय रुपैयाँ ३ लाख ४ हजार ३०० रहेको छ । भारतीय रुपैयाँको नेपाली मूल्य करिब ४ लाख ८६ हजार ८८० रुपैयाँ हुने प्रहरीले जनाएको छ ।
बरामद रकम हुण्डी कारोबारमा प्रयोग भएको हुन सक्ने प्रहरीको आशंका छ । पक्राउ परेका तुराहालाई प्रहरी हिरासतमा राखेर हुण्डीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।