शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत मधेस प्रदेशमा दोस्रो दिनको कार्यक्रम सम्पन्न गरेको छ ।
धनुषास्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुण्डमा प्रधानाध्यापक एसोसिएसन नेपालको सहजीकरणमा आयोजित कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लाबाट २ सय ११ जना शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विद्यालय शिक्षा महाशाखा प्रमुख शिव सापकोटा, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम तथा शिक्षा अभियन्ता अभिषेक घिमिरेलगायतको सहभागिता थियो ।
सहभागीहरूले आगामी शिक्षा ऐनमा विद्यालय तहका व्यावहारिक समस्या, शिक्षक तथा विद्यालयका आवश्यकता र स्थानीय समुदायको भूमिकालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्। त्यस्तै, विद्यालय शिक्षाको गुणस्तर सुधार, समुदायको अपनत्व र सहभागिता वृद्धि तथा शिक्षा क्षेत्रका समस्या समाधानका विषयमा समेत सरोकारवालाहरूले धारणा राखेका थिए।
मन्त्रालयले सातै प्रदेशमा सरोकारवालासँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा शिक्षा सुधारसम्बन्धी नीतिमा समेट्ने उद्देश्यले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गरिरहेको जनाएको छ ।