दुई छोरीको आमा बनेकै कारण बुहारीलाई यातना दिँदै जबर्जस्ती विष सेवन गराई हत्या गरेको आरोपमा सप्तरीमा एक व्यक्ति पाँच वर्षपछि पक्राउ परेका छन् ।
बोदेबरसाइन नगरपालिका–८ काचन टोलका ५५ वर्षीय बद्री दासलाई प्रहरीले आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा बिहीबार राति इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् ।
बद्रीलाई २५ वर्षीया बुहारी शिवकुमारी दासको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शिवकुमारीले दोस्रो छोरी जन्माएपछि परिवारबाट थप यातना र कुटपिट सहनुपरेको थियो। घटनाभन्दा करिब एक महिनाअघि उनले दोस्रो छोरी जन्माएकी थिइन् ।
छोरी मात्र जन्माएको निहुँमा परिवारका सदस्यले पटक–पटक यातना दिएको र अन्ततः २०७७ कात्तिक १७ गते जबर्जस्ती विष सेवन गराई हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।
घटनामा शिवकुमारीका श्रीमान् लालोप्रसाद दास, देवर सञ्जीव र धनेश्वर, नन्द भुटनीदेवी तथा सासु सीतादेवीसमेत संलग्न रहेको आरोप छ । घटनापछि उनीहरू फरार रहेको प्रहरीले जनाएको छ । उनीहरू विरुद्ध सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।
शिवकुमारीका बुबा रामदेवले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कडरबोनामा बद्रीसहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । बद्रीलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी शुक्रबार सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको डीएसपी घिमिरेले बताए ।
कञ्चनरूप नगरपालिका–३ बरमझिया माइतीघर भएकी शिवकुमारीका दुई छोरीमध्ये नौ वर्षीया जेठी छोरी हजुरबुबा रामदेवसँग बस्दै आएकी छन् भने पाँच वर्षीया कान्छी छोरी श्रीमान्को परिवारसँग बस्दै आएको रामदेवले बताएका छन् । सिटी रिक्सा चलाएर रामदेवले नातिनी र परिवारको पालनपोषण गर्दै आउनुभएको छ। छोरी गुमाएको पीडासँगै नातिनीहरूको भविष्यको चिन्ताले आफूलाई पिरोलिरहेको उनले बताएका छन् ।
“छोरीहरूलाई आमाको माया चाहिने बेलामा उनीहरूले आमा गुमाए,” रामदेवले भने, “हामीलाई न्याय चाहिएको छ । दोषी सबैलाई कानुनी कारबाही हुनुपर्छ । ” घटनाका अन्य आरोपित अझै फरार रहेकाले उनीहरूलाई समेत पक्राउ गरी घटनाको निष्पक्ष र पूर्ण अनुसन्धान गर्नुपर्ने माग परिवारजनले गरेका छन् ।
स्थानीयले छोरी जन्माएकै कारण महिलामाथि हिंसा र हत्या हुनु गम्भीर सामाजिक तथा आपराधिक घटना भएको भन्दै घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।