पर्साको पकाहामैनपुर गाउँपालिका–१ धोरेस्थित दशगजा क्षेत्रबाट प्रहरीले भन्सार छली नेपाल भित्र्याइँदै गरेका ७ वटा पाडो बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा प्रहरी चौकी धोरेबाट खटिएको टोलीले आइतबार साँझ करिब ६ः३५ बजे दशगजा क्षेत्रबाट डोर्याउँदै नेपालतर्फ ल्याइँदै गरेका पाडोहरू नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बरामद ७ वटा पाडोको अनुमानित मूल्य २ लाख ४० हजार रुपैयाँ रहेको छ । पाडो भन्सार छली चोरी–पैठारी गरी नेपाल भित्र्याएको आरोपमा पर्साको विन्दवासिनी गाउँपालिका–५ बस्ने ३८ वर्षीय फिदा हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद पाडो र नियन्त्रणमा लिइएका हुसेनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।