बाढीपहिरोका कारण मुख्य राजमार्ग तथा सडक अवरुद्ध हुँदा अत्यावश्यक वस्तुको ढुवानीमा चुनौती देखिए पनि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाना पकाउने ग्यास, नुन तथा खाद्यान्नको अभाव हुन नदिने जनाएको छ।
मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरी अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर भइरहेको कर्पोरेसनले जनाएको हो। कर्पोरेसनका पदाधिकारीका अनुसार बजारमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन वैकल्पिक ढुवानी प्रणालीलाई प्राथमिकता दिइएको छ।
कर्पोरेसनका नायब प्रमुख कुमार राजभण्डारीका अनुसार कृष्णभीरमा पहिरो गएपछि नियमित मार्गबाट सामान ढुवानीमा समस्या भएकाले हेटौँडा र दक्षिणकालीतर्फका वैकल्पिक मार्ग प्रयोग गरी अत्यावश्यक वस्तु तथा ग्यासको आपूर्ति भइरहेको छ।
नेपाल सरकारले वैकल्पिक मार्गबाट समेत आपूर्ति व्यवस्थापन गर्न निर्णय गरेपछि सोहीअनुसार ढुवानीलाई निरन्तरता दिइएको राजभण्डारीले बताउनुभयो। मुख्य सडक अवरुद्ध हुँदा बाटोमा रोकिएका ग्यास बुलेटलाई समेत वैकल्पिक व्यवस्थामार्फत व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो।
बाटोमा रोकिएका ग्यास बुलेटलाई तराईका अन्य निजी प्लान्टतर्फ डाइभर्ट गरी सिलिन्डर भरेर काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको कर्पोरेसनले जनाएको छ। खाद्यान्न तथा ग्यास बोकेका सवारीसाधनको आवतजावत सहज बनाउन विशेष समय व्यवस्थापन गरी आपूर्ति सुचारु राख्ने प्रयास भइरहेको पनि कर्पोरेसनले जनाएको छ।
सडकको अवस्था र ढुवानीमा देखिएको कठिनाइका बाबजुद बजारमा अत्यावश्यक वस्तुको अभाव हुन नदिन वैकल्पिक आपूर्ति प्रणालीलाई प्राथमिकता दिइएको कर्पोरेसनका अधिकारीको भनाइ छ।