काठमाडौँ । देशमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भागमा मौसम सफा छ। साथै, तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहिरहनेछ भने बाँकी भागमा मौसम सफा रहनेछ । कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागले आगामी २४ घण्टामा उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । बिहीबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्न सक्ने भएकाले यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर गर्न सक्ने जनाइएको छ । त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।