प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिका जाने भएका छन्। प्रधानमन्त्री शाह असोज ९ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
छोटो अवधिका लागि अमेरिका जान लागेका प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। यस क्रममा उनले नेपालमा पछिल्लो समय बाढीपहिरोलगायत विपद्बाट भएको क्षति र जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
विशेषगरी भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका असर, विपद् जोखिम न्यूनीकरण तथा प्रभावित मुलुकलाई आवश्यक सहयोगका विषयमा नेपालको धारणा राख्ने बताइएको छ।यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने तयारी गरिएको थियो। तर भोटेकोशी बाढीपछि सरकारले भ्रमणको नेतृत्व प्रधानमन्त्री शाहले नै गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा करिब १० जना सहभागी हुने बताइएको छ। छोटो समयका लागि हुने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले महासभासँगै विभिन्न उच्चस्तरीय भेटवार्ता तथा कार्यक्रमहरूमा समेत सहभागिता जनाउने तयारी रहेको छ ।