काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा नक्कली प्रोफाइल बनाएर विद्युतीय स्कुटर तथा मोटरसाइकलका पार्टपूर्जा सस्तो मूल्यमा बिक्री गर्ने भन्दै अनलाइन ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सर्लाहीका २१ वर्षीय सन्दिप कुमार सिंह कुशवाहा, सप्तरीका २१ वर्षीय सुमित दास र महोत्तरीका २२ वर्षीय दिपुष सिंहलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूलाई भदौ १६ गते काठमाडौँको कोटेश्वरबाट नियन्त्रणमा लिइएको थियो ।
प्रहरीका अनुसार कुशवाहासहितको समूहले टिकटकमा ‘सर्टिफाइड इभी सेलर’, ‘स्कुटर सोरुम’, ‘बाइकर गियर’ र ‘अस्मा कलेक्सन अनलाइन’ लगायतका नाममा नक्कली खाता सञ्चालन गर्दै आएको थियो । ती खातामार्फत बजार मूल्यभन्दा निकै कममा विद्युतीय स्कुटर, मोटरसाइकल तथा तिनका पार्टपूर्जा उपलब्ध गराउने र घरमै डेलिभरी गर्ने भन्दै ग्राहकलाई आकर्षित गर्ने गरिएको थियो ।
विज्ञापन देखेर ग्राहकले सम्पर्क गरेपछि उनीहरूले ह्वाट्सएपमार्फत कुराकानी गर्ने र सामान पठाउनुअघि अग्रिम रकम बुझाउनुपर्ने भन्दै पैसा माग्ने गरेको प्रहरीले जनाएको छ । रकम प्राप्त भएपछि भने सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको छ।
एआई प्रयोग गरी नक्कली कागजातसमेत तयार
प्रहरी अनुसन्धानका क्रममा ठगी गर्ने समूहले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको समेत दुरुपयोग गरेको पाइएको छ ।
आफूहरू समाजसेवी भएको देखाउन प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको देखिने नक्कली भुक्तानी रसिद तयार गरी सामाजिक सञ्जालमा प्रचार गर्ने गरेको प्रहरीको भनाइ छ ।
त्यसैगरी, सामान बुकिङ तथा सुरक्षित डेलिभरीका लागि नागरिकताको प्रतिलिपि आवश्यक पर्ने भन्दै ग्राहकबाट व्यक्तिगत कागजात लिने गरिएको थियो । प्राप्त नागरिकतामा एआईको प्रयोग गरी अर्कै व्यक्तिको तस्बिर राखेर कीर्ते कागजात बनाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
त्यस्ता कीर्ते कागजात प्रयोग गरी फोनपे, आइएमई पे, सिटी पेलगायत विभिन्न डिजिटल वालेटमा खाता खोल्ने र ठगीबाट प्राप्त रकमको कारोबार गर्ने गरेको समेत पाइएको छ ।
पक्राउ परेका तीनै जनामाथि ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीले सामाजिक सञ्जालमा देखाइने अस्वाभाविक रूपमा सस्ता अफर तथा विज्ञापनको भर नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै अपरिचित व्यक्ति वा अनलाइन विक्रेतालाई नागरिकता, बैंकिङ विवरण तथा अन्य व्यक्तिगत कागजात उपलब्ध नगराउन प्रहरीले सचेत गराएको छ ।