ललितपुरको सातदोबाटोस्थित नेपाल फुटबल संघ (एन्फा) परिसरमा निर्माण गरिएका जेनजी सहिदहरूको शालिक अनावरण कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ। निर्माण गरिएका शालिक सहिदहरूको वास्तविक अनुहारसँग मेल नखाएको भन्दै परिवारजनले आपत्ति जनाएपछि कार्यक्रम रोकिएको हो।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा एन्फा परिसरमा ४५ वटा शालिक निर्माण गरिएको थियो। शालिक अनावरणका लागि सहिद परिवारका सदस्यसहित गृहमन्त्री सुदन गुरुङलगायतको सहभागिता थियो। तर अनावरणअघि शालिक निरीक्षण गरेका सहिद परिवारका सदस्यहरूले आफ्ना आफन्तको अनुहार र शालिकको स्वरूप नमिलेको भन्दै असन्तुष्टि जनाएका थिए। सहिदको पहिचानसँग जोडिएको संवेदनशील विषयमा निर्माणमा त्रुटि भएको भन्दै परिवारजनले तत्काल अनावरण नगर्न आग्रह गरेपछि कार्यक्रम स्थगित गरिएको हो।
परिवारजनले शालिक निर्माण गर्दा सम्बन्धित सहिदको वास्तविक अनुहार र पहिचानलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । आफ्ना आफन्तको स्वरूपसँग मेल नखाने शालिक अनावरण गर्दा सहिदको सम्मानमा समेत असर पर्न सक्ने उनीहरूको भनाइ छ।परिवारको आपत्तिपछि शालिकको स्वरूप र अनुहार पुनः परीक्षण गर्ने तथा आवश्यक सुधार गर्ने विषयमा छलफल भएको बताइएको छ। समस्या समाधान भएपछि पुनः अनावरणको मिति तय गरिने जनाइएको छ।
यसअघि तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सातदोबाटोमा जेनजी पार्क निर्माण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा पार्कसहित शालिक निर्माण गरिएको हो। जेनजी आन्दोलनका सहिदहरूको सम्झनामा निर्माण गरिएका शालिक अनावरणअघि नै विवादमा परेपछि अब निर्माणको गुणस्तर, पहिचानको शुद्धता र सहिद परिवारसँगको समन्वयमाथि समेत प्रश्न उठेको छ।