रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका शवहरूको खोजी, उद्धार तथा व्यवस्थापनका लागि नवलपरासीका सुरक्षाकर्मीहरू निरन्तर खटिएका छन्। बाढीपछि नारायणी नदी र गण्डक तटीय क्षेत्रमा शवहरू भेटिन थालेसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको हो । गत भदौ १० गते विपद् आएलगत्तै जिल्ला सुरक्षा समितिको बैठक बसेर नारायणी नदी तथा गण्डक तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको थियो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रमा माइकिङसमेत गरी स्थानीयलाई सचेत गराइएको थियो।
बाढीको सूचना पाएलगत्तै प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालसहित सुरक्षा निकायका प्रमुखहरूको टोली तटीय क्षेत्रमा पुगेको थियो। जोखिम बढेपछि नारायणीपारिको सुस्ता गाउँका २ सय २० घरधुरीका १ हजार ४ सय ५७ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो। उनीहरूलाई सुस्ता गाउँपालिका–५ बलिनगरस्थित बीपी माध्यमिक विद्यालय तथा आफन्तको घरमा राखिएको थियो। भदौ ११ गते जोखिम केही कम भएपछि स्थानीयहरू घर फर्किए पनि नारायणी नदीमा भने भोटेकोशीको बाढीले बगाएर ल्याएका शवहरू देखिन थालेका थिए।
नदीदेखि जंगलसम्म खोजी अभियान
शव भेटिन सक्ने सम्भावित क्षेत्र पहिचान गरी भदौ १० गते रातिदेखि नै तटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। भदौ ११ गते बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी दैनिक करिब ३ सय ६५ सुरक्षाकर्मी खोजी तथा उद्धार कार्यमा परिचालित हुँदै आएका छन्। परिचालित जनशक्तिमध्ये नेपाल प्रहरीका २ सय ७५, नेपाली सेनाका ४० देखि ४५ तथा सशस्त्र प्रहरीका ४० देखि ५० जना सुरक्षाकर्मी रहेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी मदन थापाको नेतृत्वमा मोटरजडित डुंगासमेत प्रयोग गरी नारायणी नदीमा खोजी अभियान सञ्चालन गरिएको थियो। नदीमा तीव्र बहाव, प्रतिकूल मौसम र भौगोलिक जोखिमका बाबजुद सुरक्षाकर्मीहरूले शव खोजी तथा उद्धारको कामलाई निरन्तरता दिएका छन्। नदीबाट निकालिएका तथा छिमेकी मुलुक भारतमा फेला परेर नेपाल ल्याइएका शवहरूलाई परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा पुर्याइएको थियो। तर अस्पतालमा शव राख्ने ठाउँ अभाव भएपछि केही शव बुटवल, भैरहवा र कपिलवस्तुका अस्पतालमा समेत पठाइएको थियो।
शवको संख्या बढ्दै गएपछि पहिचानका लागि डीएनए परीक्षण गर्न नमुना संकलन गरिएको थियो। नमुना संकलनपछि शवहरूलाई सुनवल नगरपालिका–४ स्थित मूलपानी सामुदायिक वनको अलकत्रा डाँडामा व्यवस्थापन गर्न थालिएको जनाइएको छ।भोटेकोशी बाढीमा बगेर आएका शवहरूको खोजी, पहिचान र व्यवस्थापनको काम चुनौतीपूर्ण बने पनि सुरक्षाकर्मीहरूले नदी, तटीय क्षेत्र तथा जंगलसम्म निरन्तर खोजी अभियान सञ्चालन गरिरहेका छन्।