अमेरिकामा करिब २४ करोड ५० लाख अमेरिकी डलरबराबरको बिटक्वाइन चोरी गरेको अभियोगमा सिंगापुरका २२ वर्षीय मालोन लाम दोषी ठहर भएका छन्।
साथीहरूसँग मिलेर उक्त परिमाणको क्रिप्टोकरेन्सी चोरी गरी त्यसलाई शुद्ध बनाएको लामले अदालतसमक्ष स्वीकार गरेका छन्। अमेरिकी अधिकारीहरूले यसलाई देशमा भएका हालसम्मका सबैभन्दा ठूला क्रिप्टोकरेन्सी चोरी प्रकरणमध्ये एक भनेका छन्।
आठ कक्षा पढ्दापढ्दै पढाइ छाडेका लाम सन् २०२३ को अक्टोबरमा सिंगापुरबाट अमेरिका आएका थिए। भिसाको म्याद सकिए पनि उनी अमेरिकामै बसेर आपराधिक गतिविधिमा संलग्न भएका थिए।
अदालतमा पेस गरिएका कागजातअनुसार सन् २०२३ को अक्टोबरदेखि २०२५ को मेसम्म उनको नेतृत्वमा आपराधिक नेटवर्क सञ्चालन भएको थियो। फेडरल ब्युरो अफ इन्भेस्टिगेसनका एजेन्टहरूले सन् २०२४ को सेप्टेम्बरमा लाम र उनका एक सहयोगीलाई पक्राउ गरेपछि उक्त समूहको गतिविधिमा ठुलो धक्का पुगेको थियो।
न्याय मन्त्रालयका अनुसार यो समूहले मानिसहरूलाई झुक्क्याएर गोप्य सूचना प्राप्त गर्ने गरेको थियो। कतिपय अवस्थामा पीडितको घरमै चोरी गरेर क्रिप्टोकरेन्सी वालेट खाली गर्न आवश्यक विवरणसमेत हात पार्ने गरेको अनुसन्धानबाट खुलेको छ। चोरीका लागि लामले एन ह्याथवे, ४४४ र किङ ग्रेभी लगायतका नाम प्रयोग गर्ने गरेको पाइएको छ।
उनी उक्त आपराधिक समूहका मुख्य योजनाकार रहेको र पीडित पहिचान गर्नेदेखि समूहका अन्य सदस्यको भूमिका समन्वय गर्नेसम्मका काममा संलग्न रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। मंगलबार संघीय अदालतमा ठगी षड्यन्त्रसम्बन्धी आरोपमा लामले दोष स्वीकार गरेका छन् र उनलाई अधिकतम २० वर्षसम्मको जेल सजाय हुन सक्छ। अमेरिकी जिल्ला न्यायाधीश कोलिन कोलार–कोटेलीले उनको सजाय सुनाउने मिति भने हालसम्म तोकेकी छैनन्।
चोरीको रकमबाट हर्मेसका बिर्किन ब्यागसमेत खरिद गरिएको थियो। दशौँ हजार डलर पर्ने ती ब्याग नाइट क्लबमा आयोजित पार्टीका क्रममा भीडतर्फ फ्याँक्ने गरेको अधिकारीहरूले बताएका छन्। त्यस्तै उनीहरूले चोरीको पैसाबाट पाँच लाख डलरसम्म मूल्य पर्ने महँगा घडी, दशौँ हजार डलर मूल्यका विलासी कपडा, लस एन्जलस, ह्याम्पटन र मियामीमा भाडाका घर, निजी विमान तथा निजी सुरक्षा गार्डसमेतको व्यवस्था गरेका थिए।
लाम आफ्नो भड्किलो जीवनशैलीका कारण लस एन्जलस र मियामीका नाइट क्लबहरूमा परिचित बनेका थिए। क्रिप्टोकरेन्सीबाट प्राप्त ठुलो रकम तीव्र गतिमा खर्च गर्ने उनको शैलीले अनुसन्धानकर्ताको ध्यान समेत तानेको थियो।
यसै मुद्दाका अर्का सहयोगी इभान ट्याङ्गम्यानलाई गत अप्रिलमा रकम शुद्धीकरणसम्बन्धी अभियोगमा ७० महिनाको जेल सजाय सुनाइएको थियो। लाम पक्राउ परेपछि ट्याङ्गम्यानले प्रमाण नष्ट गर्ने प्रयाससमेत गरेका थिए। अमेरिकी न्याय मन्त्रालयका अनुसार अदालतले उनको उक्त कार्यलाई अपराधबारे सचेत रहेको प्रमाणका रूपमा लिएको थियो। एजेन्सी