काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगलमा गत मंगलबार दिउँसो २ बजेदेखि लागेको डढेलो हेलिकोप्टरमार्फत निभाउन थालिएको छ ।
डढेलो लागेको चार दिनसम्म नियन्त्रणमा आउन नसकेपछि हेलिकोप्टरको सहायतामा आगो नियन्त्रणको प्रयास गरिएको हो । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीका अनुसार शुक्रबार दिउँसोबाट सिम्रिक एयरको हेलिकोप्टरमार्फत पानी खन्याएर डढेलो निभाउने काम भइरहेको छ । बेथानचोक–२ को गुवाभन्ज्याङस्थित पार्कमा बनाइएको पाखेरीबाट पानी ल्याएर हेलिकोप्टरले आगो लागेको स्थानमा खन्याइँदै छ ।
वन्यजन्तु र जडिबुटीका लागि प्रख्यात यस महाभारत जंगलको एक सय हेक्टरभन्दा बढी क्षेत्रफल आगलागीका कारण सखाप भएको छ । डढेलोका कारण वन्यजन्तुको बासस्थानमा पनि गम्भीर क्षति पुगेको छ । अध्यक्ष अधिकारीका अनुसार स्थानियवासी, सुरक्षाकर्मी र अन्य स्वयंसेवीको प्रयासले मात्र डढेलो नियन्त्रण सम्भव नभएपछि हेलिकोप्टर प्रयोग गर्नुपरेको हो ।
आगलागीको मुख्य कारणको पहिचान भने हालसम्म स्पष्ट भएको छैन ।