चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी शनिबार र आइतबार भारतको नयाँदिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा सीले भारत भ्रमण गर्न लागेका हुन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार सीको भारत भ्रमणको घोषणा गरेका हुन् । यो भ्रमण सात वर्षपछि सीको पहिलो भारत भ्रमण हुनेछ । घोषणालगत्तै भारतीय सञ्चारमाध्यमले यसलाई विशेष महत्त्वका साथ प्रकाशन गरेका छन् ।
‘द इन्डियन एक्सप्रेस’ ले सीको भ्रमणलाई उच्चस्तरीय कूटनीतिक भेटवार्ताका रूपमा व्याख्या गर्दै यसले दुई एसियाली शक्तिबिच सम्बन्ध सुधार र स्थायित्वका लागि भइरहेका प्रयासमा प्रभाव पार्न सक्ने जनाएको छ ।
चीन र भारतबिच पछिल्ला वर्षमा सीमा विवादका कारण सम्बन्धमा तनाव रहँदै आएको थियो । तर पछिल्लो समय दुई देशबिच सम्बन्धमा सुधारका संकेत देखिएका छन् । विज्ञहरूले सीको भारत भ्रमणलाई यही सुधार प्रक्रियालाई थप अघि बढाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरेका छन् ।
‘इन्डिया चाइना इकोनोमिक एन्ड कल्चरल काउन्सिल’का प्रमुख मोहम्मद सकिबले सीको भ्रमणले यसपटकको ब्रिक्स सम्मेलनको महत्त्व नै बढाएको बताएका छन् ।