तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रतिवादी बनाइएका १० जनालाई बारा जिल्ला अदालतले रिहा गर्ने आदेश दिएको छ। अदालतले प्रोग्रेश पुरग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य नौ जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको हो। न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले चौधरीका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममता तथा सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।
अदालतको आदेशअनुसार उनीहरूमाथि लागेको अभियोग पुष्टि हुने पर्याप्त तथा ठोस प्रमाण तत्काल उपलब्ध नदेखिएकाले थुनामा राखिरहन आवश्यक नभएको निष्कर्ष निकालिएको छ। आदेशपछि सबैजना बिहीबार साँझ रिहा भएका छन्। मृतक बालिकाका बुबा मनोज चौधरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको थियो।
यसै घटनामा प्रतिवादी बनाइएका दुई नाबालकलाई भने अदालतले बाल सुधारगृहमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको छ। उनीहरूलाई वीरगञ्जस्थित बाल सुधारगृह पठाइएको बारा प्रहरी प्रमुख नरेन्द्र कुँवरले जानकारी दिएका छन्। दुईमध्ये एक नाबालकले अनुसन्धानका क्रममा घटना आफूले गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती नाबालकले बालिकालाई चकलेटको प्रलोभन देखाएर बलात्कारपछि हत्या गरेको बयान दिएका थिए। उनको बयान घटनास्थलको अवस्था तथा शव भेटिएको परिस्थितिसँग मेल खाएको भन्दै प्रहरीले उनको संलग्नता रहेको निष्कर्ष निकालेको थियो। अनुसन्धानका क्रममा ती नाबालकले घटनामा अर्को साथीको समेत संलग्नता रहेको बताएका थिए। चिकित्सकसँग कुराकानी भइरहेको अवस्थामा खिचिएको उनको भिडियो बाहिरिएपछि घटनाले थप चर्चा पाएको थियो।
उक्त भिडियो प्रहरी हवल्दार कुमार विकले सार्वजनिक गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले उनलाई नियन्त्रणमा लिएर वैयक्तिक गोपनीयतासम्बन्धी ऐन तथा विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ। अर्का नाबालकले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। अदालतले दुवै नाबालकलाई मुद्दाको अन्तिम फैसला नभएसम्म बाल सुधारगृहमा राख्ने आदेश दिएको हो।
जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका भदौ २ गते घरनजिकै रहेको खाली घरमा मृत अवस्थामा फेला परेकी थिइन्। साउन ३१ गतेदेखि हराइरहेकी बालिकाको शव घरबाट करिब एक सय मिटर दक्षिणतर्फ भेटिएपछि स्थानीयस्तरमा विरोध प्रदर्शनसमेत भएको थियो।
घटनालाई लिएर देशका विभिन्न स्थानमा विरोध र आन्दोलन चर्किएपछि भदौ ६ गते गृह मन्त्रालयमा सरकारी प्रतिनिधि र मृतकका अभिभावकबीच छलफल भएको थियो। गृहमन्त्री, कानुनमन्त्री र प्रहरी महानिरीक्षकसहितको उपस्थितिमा भएको वार्तामा तीनबुँदे सहमति भएपछि भदौ ७ गते बालिकाको कलैयास्थित पसाहा खोलामा अन्त्येष्टि गरिएको थियो।