भोटेकोशी बाढीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव, तत्कालीन तथा दीर्घकालीन आवश्यकता पहिचान र स्वास्थ्य सेवा पुनःस्थापना तथा सुदृढीकरणका लागि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले विस्तृत स्वास्थ्य आवश्यकता तथा पुनःस्थापना मूल्याङ्कन गर्ने भएको छ। मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघसँगको सहकार्यमा गर्न लागेको मूल्याङ्कनमा बाढी प्रभावित समुदायको स्वास्थ्य अवस्था अध्ययन गरिनेछ। विशेषगरी जोखिममा रहेका तथा संवेदनशील समूहको स्वास्थ्य अवस्था, उनीहरूले भोगिरहेका समस्या र आवश्यक स्वास्थ्य सेवाबारे मूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ।
मूल्याङ्कनका क्रममा बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवाको उपलब्धता, स्वास्थ्य संस्थामा पुगेको क्षति, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति अवस्था, रोग निगरानी प्रणाली र आपत्कालीन पूर्वतयारीको अवस्थाबारे अध्ययन गरिनेछ। त्यस्तै, बाढीका कारण स्वास्थ्य सेवा प्रवाहमा परेको असर तथा प्रभावित स्वास्थ्य संस्थाको अवस्थासमेत अध्ययन गरिनेछ। तत्काल स्वास्थ्य सेवा पुनः सञ्चालन गर्न आवश्यक जनशक्ति, औषधि, स्वास्थ्य सामग्री तथा अन्य स्रोतसाधनको आवश्यकतासमेत पहिचान गरिने मन्त्रालयको भनाइ छ।
मूल्याङ्कनबाट प्राप्त निष्कर्षका आधारमा स्वास्थ्य क्षेत्रको पुनःस्थापना तथा पुनःनिर्माणका प्राथमिकता निर्धारण गरिनेछ। साथै, भविष्यमा आउन सक्ने विपद्को सामना गर्न सक्षम र दिगो स्वास्थ्य प्रणाली निर्माणका लागि आवश्यक कार्ययोजना तयार गर्न पनि मूल्याङ्कनले आधार प्रदान गर्ने अपेक्षा गरिएको छ। मन्त्रालयका अनुसार अध्ययनले बाढीबाट सिर्जित तत्कालीन स्वास्थ्य आवश्यकतासँगै स्वास्थ्य प्रणालीमा रहेका संरचनागत कमजोरीसमेत पहिचान गर्नेछ। त्यसका आधारमा विपद्का समयमा स्वास्थ्य सेवा प्रभावकारी, व्यवस्थित र निरन्तर रूपमा सञ्चालन गर्न आवश्यक नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुग्नेछ।