इन्डोनेसियामा २४० यात्रु सवार पानीजहाज समुद्रमा सम्पर्कविहीन भएको छ । जाभा सागरमा यात्रा गरिरहेको पानीजहाजसँग सम्पर्क टुटेपछि खोज तथा उद्धार अभियान सुरु गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
दक्षिण कालीमन्तान प्रान्तको खोज तथा उद्धार निकायका अनुसार उक्त पानीजहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालीमन्तानको बान्जारमासिनतर्फ गइरहेको थियो । गन्तव्यतर्फ अघि बढिरहेका बेला पानीजहाजसँग सम्पर्क विच्छेद भएको हो । बान्जारमासिन खोज तथा उद्धार केन्द्रबाट करिब ८० समुद्री माइल टाढा पुगेपछि पानीजहाजसँग अन्तिमपटक सम्पर्क भएको अधिकारीहरूले बताएका छन् । त्यसपछि सम्पर्क हुन नसकेपछि पानीजहाजको अवस्था पत्ता लगाउन तथा यात्रुको खोजी गर्न एउटा उद्धार जहाज परिचालन गरिएको छ ।
सम्पर्क टुट्नुअघि पानीजहाजले समुद्री क्षेत्रमा खराब मौसमको सामना गरिरहेको जानकारी इन्डोनेसियाली अधिकारीहरूले दिएका छन् । प्रतिकूल मौसमका कारण पानीजहाजको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ । खोज तथा उद्धार टोलीले सम्पर्कविहीन पानीजहाजको अवस्थाबारे जानकारी संकलन गर्दै यात्रुहरूको सुरक्षित उद्धारका लागि अभियान अघि बढाइरहेको छ ।