कोहलपुर नगरपालिका–१३ भरैयामा सुत्केरी हुने क्रममा १७ वर्षीया किशोरीको मृत्यु भएको छ। घरमै असुरक्षित रूपमा सुत्केरी गराउने क्रममा किशोरीसँगै नवजात शिशुको समेत मृत्यु भएको हो।
मृत्यु हुनेमा कोहलपुर–१३ भरैयाकी लालमती पुन मगर रहेकी छन्। वडा सदस्य बलबहादुर घर्तीका अनुसार शनिबार बिहान करिब ५ः३० बजे लालमतीले घरमै आफ्नो पहिलो सन्तानलाई जन्म दिएकी थिइन्। बच्चा जन्मिएलगत्तै नवजात शिशुको मृत्यु भएको थियो।
बच्चा जन्मिएपछि लालमतीको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। अत्यधिक रक्तस्राव भएपछि उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर लगिएको थियो। अस्पताल पुर्याउँदा उनको अवस्था गम्भीर रहेको र बिहान ७ः१० बजे चिकित्सकले मृत घोषणा गरेको वडा सदस्य घर्तीले जानकारी दिए।
केही दिनदेखि नै लालमतीको स्वास्थ्यमा समस्या देखिएको परिवारले जनाएको छ। पेट दुख्ने समस्या रहे पनि शनिबार बिहान एक्कासि सुत्केरी व्यथा लागेपछि घरमै बच्चा जन्माएको र त्यसपछि उनको अवस्था गम्भीर बनेको बताइएको छ। वडा सदस्य घर्तीले घटना दुःखद् भएको बताए। उनका अनुसार लालमतीका परिवार गत वर्ष मात्रै सल्यानबाट कोहलपुरमा बसाइँ सरेका थिए। लालमतीको विवाह सल्यानमै भएको थियो।
कोहलपुर नगरपालिका–१३ लाई २०७७ सालमा बालविवाहमुक्त वडा घोषणा गरिएको थियो। वडा सदस्य घर्तीका अनुसार वडालाई बालविवाहमुक्त घोषणा गरिए पनि लुकिछिपी वा भागी विवाह हुने घटनाबारे कतिपय अवस्थामा वडा कार्यालयसम्म जानकारी नआउने गरेको छ। उनले भने, “हाम्रो वडा २०७७ सालमा बालविवाहमुक्त घोषणा भएको हो। कम उमेरमा लुकिछिपी वा भागी विवाह गर्ने कतिपय घटनाहरू हामीसम्म आइपुग्दैनन्, जानकारी हुँदैन।”
स्वास्थ्यकर्मीका अनुसार २० वर्षभन्दा कम उमेरमा गर्भधारण तथा सुत्केरी हुनु स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्छ। नेपालको कानुनले पनि २० वर्षभन्दा कम उमेरमा विवाह गर्न निषेध गरेको छ। तर, अझै पनि लुकिछिपी तथा भागी विवाहका कारण बालविवाहका घटना हुने गरेका छन्।
२०७७ चैतमा ‘हामी सबैको प्रतिबद्धता : बालविवाहविरुद्ध साझा प्रतिबद्धता’ भन्ने नारासहित कोहलपुर नगरपालिका–१२ र १३ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो। घोषणा गर्नुअघि ती वडाका टोलमा सर्वेक्षणसमेत गरिएको थियो। तर, बालविवाहमुक्त घोषणा गरिएको वडामै कम उमेरकी किशोरी सुत्केरी हुने क्रममा नवजात शिशुसहित उनको मृत्यु भएपछि बालविवाहमुक्त घोषणाको प्रभावकारी कार्यान्वयनमाथि प्रश्न उठेको छ।
बालविवाह रोकथामका लागि घोषणा मात्रै पर्याप्त नभई नियमित अनुगमन, जनचेतना, जोखिममा रहेका बालबालिकाको पहिचान तथा स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था र समुदायबीच प्रभावकारी समन्वय आवश्यक देखिएको सरोकारवालाहरू बताउँछन्।