काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्न सक्ने दाबी गरेका छन् ।
भक्तपुरमा आइतबार आयोजित मीनकुमारी राणा प्रतिष्ठानको कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । महामन्त्री थापाले भने, “म अहिलेका प्रधानमन्त्री, हुनेवाला प्रधानमन्त्री वा अघिल्ला प्रधानमन्त्रीभन्दा राम्रोसंग सरकार सञ्चालन गर्न सक्छु भन्ने विश्वास छ । आजकै प्रधानमन्त्रीको ठाउँमा गएर हामीले अझ राम्रोसंग सरकार चलाउन सक्छौँ ।”
थापाले देशको राजनीतिक स्थिरता र विकासका लागि नेतृत्व परिवर्तनको आवश्यकता रहेको पनि स्पष्ट पारे । पाँच-पाँच वर्षमा हुने निर्वाचनमा हार-जीतलाई स्वाभाविक रूपमा लिनुपर्ने र यसलाई व्यवस्थाको असफलता भन्नु गलत हुने धारणा उनले राखे ।
उनले आगामी चुनावको मात्रै प्रतीक्षा गर्नुभन्दा अहिलेको अवसरलाई सदुपयोग गर्दै देश र जनताको समृद्धिका लागि कांग्रेसले काम गर्नुपर्ने उल्लेख गरे ।