काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत घाइतेको अन्तर्वार्ता लिएको विषय विवादमा परेको छ ।
युट्युब कार्यक्रम ‘इनसाइड द बङ्कर’का लागि सुरजसिंह ठकुरीले आईसीयू कक्षभित्रै पुगेर घाइतेसँग अन्तर्वार्ता लिएको भिडियो सार्वजनिक भएपछि उक्त विषयमा प्रश्न उठेको हो । आईसीयू जस्तो संवेदनशील क्षेत्रमा स्वास्थ्य सुरक्षा तथा सङ्क्रमण नियन्त्रणसम्बन्धी प्रोटोकल पालना नगरी छायाङ्कन गरिएको भन्दै आलोचना भइरहेको छ ।
सार्वजनिक भिडियोमा ठकुरी र अन्तर्वार्ता दिइरहेका घाइते दुवैले मास्क नलगाएको देखिन्छ । घाइतेका आफन्तको अनुमति नलिइएको र आईसीयूभित्र बाह्य व्यक्तिको प्रवेश तथा छायाङ्कनले सङ्क्रमणको जोखिम बढाउन सक्ने भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ ।
यद्यपि, ठकुरीले भने चिकित्सकको अनुमतिमा अस्पताल पुगेको र सहभागीहरूको शारीरिक तथा मानसिक अवस्थालाई प्राथमिकतामा राख्दै चिकित्सकको प्रत्यक्ष उपस्थितिमा आवश्यक स्वास्थ्य तथा सुरक्षा प्रोटोकल पालना गरेर अन्तर्वार्ता रेकर्ड गरिएको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले सम्बन्धित व्यक्तिहरूको सहमतिमै कार्यक्रम तयार पारिएको बताएका छन् । ‘इनसाइड द बङ्कर’मार्फत त्रिशूली–३ ‘ए’ सुरुङभित्र बाढीका क्रममा फसेका उद्धारकर्ता तथा पीडितहरूको अनुभव समेटिएको विशेष सामग्री प्रसारण गरिएको उनको भनाइ छ ।
तर, स्वास्थ्य क्षेत्रका विज्ञहरूले आईसीयूमा रहेका बिरामीसँग अन्तर्वार्ता वा प्रत्यक्ष कुराकानी गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले आईसीयू अत्यन्त संवेदनशील क्षेत्र भएकाले त्यहाँ प्रवेश तथा अन्तर्वार्ताका लागि आवश्यक प्रोटोकल पालना गर्नुपर्ने बताए । उनका अनुसार आईसीयूमा प्रवेश नै विशेष अनुमति र स्वास्थ्य सुरक्षाका मापदण्डअनुसार हुनुपर्ने हुन्छ ।
चिकित्सकहरूका अनुसार आईसीयूमा उपचाररत बिरामीहरूमा सङ्क्रमणको जोखिम उच्च हुने भएकाले अनावश्यक मानिसको प्रवेश तथा सम्पर्कलाई सकेसम्म कम गर्नुपर्छ । अस्पतालले तोकेको प्रोटोकलअनुसार मात्र बिरामीसँग भेटघाट तथा कुराकानी गर्नुपर्ने उनीहरूको भनाइ छ ।
एक चिकित्सकका अनुसार गम्भीर अवस्थामा रहेका बिरामीलाई लामो समय बोल्न लगाउँदा थप स्वास्थ्य जटिलता उत्पन्न हुनसक्छ । विशेषगरी भेन्टिलेटरमा रहेका वा अत्यन्तै गम्भीर अवस्थामा रहेका बिरामीसँग प्रत्यक्ष संवाद गराउनु जोखिमपूर्ण हुनसक्ने चिकित्सकहरूको भनाइ छ ।
आईसीयूमा छायाङ्कन वा अन्तर्वार्ता आवश्यक परे अस्पताल प्रशासन, सम्बन्धित चिकित्सक तथा आईसीयू इन्चार्जको अनुमति र बिरामी वा निजका आफन्तको सहमति आवश्यक हुने चिकित्सकहरू बताउँछन् । त्यस्तो अवस्थामा पनि सङ्क्रमण नियन्त्रण तथा अन्य बिरामीको गोपनीयतालाई प्राथमिकता दिनुपर्ने हुन्छ ।
भिडियाे रिपाेर्ट
घटनाबारे नेपाली सेनाको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ ।