काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित गरुड क्यासिनोबाट जुवा खेलिरहेको आरोपमा ११ जना नेपाली नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरेर हारजित हुने गरी जुवा खेल्ने तथा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो। सो क्रममा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट ९ थान मोबाइल, ५० हजार रुपैयाँ लेखिएका ८ थान क्वाइन, १० हजार रुपैयाँ लेखिएका १९ थान क्वाइन, १ हजार रुपैयाँ लेखिएका ८८ थान क्वाइन र १०० रुपैयाँ लेखिएका ५ थान क्वाइन बरामद गरेको छ। साथै, १० लाख ८५ हजार ६ सय रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई जुवा सम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत दुई दिनको म्याद थप अनुमति लिइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताए।
पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका–६ का ३४ वर्षीय बिकी लामा, सोलुखुम्बु माकालुङ गाउँपालिका–३ का ३९ वर्षीय नुवाङ शेर्पा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका–६ का ३९ वर्षीय पाशाङ शेर्पा, सिन्धुली गोलन्जर गाउँपालिका–५ की ३२ वर्षीया ज्योती मगर र दोलखा वैतेश्वर गाउँपालिका–८ का ३५ वर्षीय नारायण खत्री रहेका छन्।
त्यस्तै, काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ का ४४ वर्षीय दिल लामा, काभ्रे रोशी गाउँपालिका–१ का ४४ वर्षीय अशोक लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका–३ का ३२ वर्षीय संजय तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ का ४० वर्षीय आषिश खड्का, ललितपुर महानगरपालिका–६ का ४९ वर्षीय सविनमान श्रेष्ठ र धनकुटा जोरपाटी गाउँपालिका–४ का ३० वर्षीय सुदिप अधिकारी पक्राउ परेका छन्।