न्यायपरिषद्ले उच्च अदालतका लागि तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ। न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल, कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
पोखरेललाई उच्च अदालत सुर्खेतमा पदस्थापन गर्ने गरी न्यायाधीशमा सिफारिस गरिएको छ। त्यस्तै, कास्की जिल्ला अदालतका न्यायाधीश बेल्बासेलाई उच्च अदालत जनकपुरमा पदस्थापनका लागि सिफारिस गरिएको छ । फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक सिंहलाई उच्च अदालत विराटनगरमा पदस्थापन गर्ने गरी न्यायाधीशमा सिफारिस गरिएको छ ।
यसैगरी, न्यायपरिषद्को बैठकले तीन जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णयसमेत गरेको छ। ठगीन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाल सचिवमा बढुवा भएका छन् ।
बढुवा भएका कट्टेल र दाहाललाई सर्वोच्च अदालतको रजिष्ट्रार तथा भट्टराईलाई न्यायपरिषद्को सचिवमा जिम्मेवारी दिने निर्णय भएको छ ।