नेपाल राष्ट्र बैंकले दशैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गर्दै मातहतका बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँका नोट उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो । राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका समयमा साना दरका नोट सटही गर्न बैंकका शाखा तथा काउन्टरमा हुने भीड कम गर्ने उद्देश्यले एटीएमबाटै १०० रुपैयाँका नोट वितरण गर्ने व्यवस्था गर्न लागिएको हो ।
यसअघि अधिकांश बैंकका एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्र निकाल्न सकिने व्यवस्था थियो। अब १०० रुपैयाँका नोटसमेत एटीएमबाट उपलब्ध हुन थालेपछि साना दरका नोट आवश्यक पर्ने ग्राहकलाई बैंकको काउन्टरमा लाइन बस्नुपर्ने बाध्यता कम हुने राष्ट्र बैंकको अपेक्षा छ ।
चाडपर्वका बेला दक्षिणा, पूजा तथा दैनिक कारोबारका लागि साना दरका नोटको माग बढ्ने भएकाले एटीएमबाटै त्यस्ता नोट उपलब्ध गराउने व्यवस्था ग्राहकका लागि थप सहज हुने राष्ट्र बैंकले जनाएको छ ।