अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड डलर बराबरको हतियार बिक्री गर्ने तयारी गरेको छ। प्रस्तावित प्याकेजमा २ हजार पाउन्ड तौलका ४० हजार शक्तिशाली बम समावेश छन् ।
अमेरिकी अधिकारीहरूका अनुसार प्रस्तावित प्याकेजमा २० हजार एमके–८४ र २० हजार बीएलयू–११७ बम छन्। यो योजना अझै अन्तिम भइसकेको छैन। अमेरिकी प्रशासनले यसबारे सम्बन्धित कंग्रेस समितिहरूलाई अनौपचारिक रूपमा जानकारी गराइसकेको छ ।
यीमध्ये केही बमको ढुवानी तत्कालीन राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् २०२४ मा गाजामा ठूलो मानवीय क्षति हुन सक्ने चिन्ताका कारण रोकेको थियो। ट्रम्प प्रशासनले अहिले त्यही प्रकारका बम इजरायललाई उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो ।
प्रस्तावित हतियार सम्झौताको अधिकांश रकम ‘फरेन मिलिटरी फाइनान्सिङ’ अर्थात् अमेरिकी सैन्य सहायता कार्यक्रममार्फत व्यवस्थापन गरिने जनाइएको छ। यसअन्तर्गत अमेरिकी रकम प्रयोग गरी इजरायलले अमेरिकाबाटै हतियार खरिद गर्नेछ ।
ट्रम्प प्रशासनको यो तयारी इजरायलको सैन्य क्षमतालाई थप बलियो बनाउने पछिल्ला कदममध्ये एक भएको समाचारहरूमा उल्लेख गरिएको छ। गाजामा जारी द्वन्द्वका कारण ठूलो मानवीय क्षति भएको विषयमा अन्तर्राष्ट्रिय स्तरमा भने चिन्ता र आलोचना जारी छ ।