अस्ट्रेलियाको पश्चिमी सिड्नीस्थित अर्बनमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय नेपाली युवक सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ।
समाचार संस्था द अस्ट्रेलिया टुडेका अनुसार अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको हो। घटनाको २४ घण्टा नबित्दै उनलाई बुधबार बर्वुड स्थानीय अदालतमा उपस्थित गराइएको थियो ।
अदालतमा अधिकारीले आफूमाथि लागेको आरोप स्वीकार वा अस्वीकारबारे कुनै प्रतिक्रिया दिएका छैनन्। अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले प्रश्न गर्दा उनले कागजको पानाले अनुहार छोप्ने प्रयास गरेको समाचारमा उल्लेख छ । अधिकारीका कानुन व्यवसायी ड्यानी इडले घटनालाई अत्यन्तै दुःखद भएको बताएका छन्। उनका अनुसार अधिकारी घटनापछि तनावमा छन् र बालिकाको परिवार तथा उनीहरूको अवस्थाबारे चिन्तित छन् ।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब २ बजे अर्बनको नर्मनबी रोडस्थित ड्राइभवेमा खेलिरहेकी बालिकालाई कारले ठक्कर दिएको थियो । घटनापछि आपत्कालीन सेवाका टोली घटनास्थल पुगेका थिए। गम्भीर घाइते बालिकालाई तत्काल वेस्टमिड अस्पताल लगिएको थियो। उपचारका क्रममा केही घण्टापछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा कार चालक अधिकारी घाइते भएका थिएनन्। उनलाई अनिवार्य परीक्षणका लागि अर्बन अस्पताल लगिएपछि प्रहरी स्टेसन पुर्याइएको थियो। अधिकारी हाल जमानतमा रहेको र आगामी अक्टोबर २७ मा पुनः अदालतमा उपस्थित हुनुपर्ने आदेश भएको जनाइएको छ।
अदालतमा मुद्दा विचाराधीन रहेकाले अधिकारीमाथि लागेको आरोप अहिलेसम्म अदालतबाट प्रमाणित भइसकेको छैन।