सर्वोच्च अदालतको निर्माणाधीन भवनमा फेरि आगलागी भएको छ । अदालतको मुद्दा फाँटतर्फ रहेको मल्टिप्लकमा विद्युत् सर्ट हुँदा आगलागी भएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार बन्द कोठाभित्र रहेको मल्टिप्लकमा विद्युत् सर्ट भएपछि आगलागी भएको थियो । घटनाबाट ठूलो क्षति नभएको उनले जानकारी दिए ।
आगलागीका कारण एउटा टेबल र तीन थान कम्प्युटर जलेका छन् । कोठामा रहेका मिसिल तथा महत्वपूर्ण कागजातमा भने क्षति नभएको प्रवक्ता कोइरालाले बताए । आगलागीको सूचना पाएलगत्तै प्रहरी तथा दमकलको टोली घटनास्थलमा पुगेको थियो । टोलीले आगो नियन्त्रणमा लिएको छ । सर्वोच्च अदालतमा यसअघि पनि भदौ १७ गते आगलागी भएको थियो । त्यसबेला अभिलेख शाखामा आगलागी हुँदा क्षति पुगेको थियो । उक्त घटनाबारे छानबिन भइरहेका बेला अदालतमा पुनः आगलागी भएको हो ।
यसअघि जेनजी आन्दोलनका क्रममा समेत सर्वोच्च अदालतमा आगजनी हुँदा ठूलो क्षति भएको थियो ।