सोलुखुम्बुको सोताङ गाउँपालिकाका उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले दुवै जनाविरुद्ध ४५ हजार रुपैयाँ बिगो तथा सोही रकम बराबरको जरिवाना र कैद सजायको मागदाबी गरेको जनाएको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सोताङ गाउँपालिकामा सञ्चालित ढाका सिलाइ–बुनाइ तालिममा प्रशिक्षकका रूपमा काम दिलाइदिने भन्दै सेवाग्राहीसँग ४५ हजार रुपैयाँ माग गरिएको थियो ।
अनुसन्धानका क्रममा उपाध्यक्ष राईले तालिममा प्रशिक्षकको काम दिलाइदिने तथा तालिममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट रकम माग गरेको र उक्त रकम उनका छोरा सुनिलको बैंक खातामा रहेको क्यूआर कोडमार्फत जम्मा गर्न लगाएको खुलेको आयोगको दाबी छ । आयोगले उपाध्यक्ष राईले आफ्नो पद तथा पदीय जिम्मेवारीको दुरुपयोग गर्दै छोरा सुनिलसँगको मिलेमतोमा घुस रकम लिएको देखिएको जनाएको छ ।
सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।