वाणिज्य बैंकहरूले नयाँ महिनाका लागि बचत तथा मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग अपेक्षाकृत सुस्त रहेकाले अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएका वा यथावत् राखेका छन् ।
व्यक्तिगत मुद्दती निक्षेपतर्फ नबिल बैंक र प्रभु बैंकले सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । एनएमबी बैंक, सानिमा बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले भने अधिकतम ४.५० प्रतिशत ब्याजदर तोकेका छन्। नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.१५ प्रतिशत, एभरेस्ट बैंकले ४.०५ प्रतिशत तथा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एसिया बैंकले ४ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।
त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८० प्रतिशत र कुमारी बैंकले ३.४६ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् ।
बचत निक्षेपतर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एभरेस्ट बैंकले अधिकतम ३.७५ प्रतिशत ब्याजदर तोकेका छन् । कुमारी बैंकले ३.३१ प्रतिशत र एनआईसी एसिया बैंकले ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । प्रभु बैंक र नेपाल बैंकले बचत खातामा ३ प्रतिशत ब्याज दिने भएका छन् । नबिल बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकले २.८० प्रतिशत तथा एनएमबी बैंक, ग्लोबल आईएमई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २.७५ प्रतिशत ब्याजदर तोकेका छन् ।
बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार मुद्दती तथा बचत निक्षेपमा बैंकपिच्छे फरक–फरक दर कायम भएको छ ।