वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमडी अध्ययनरत विद्यार्थीहरूको आन्दोलन दोस्रो दिन पनि जारी रहेको छ। आन्दोलनरत विद्यार्थीहरूले बिहीबार कलेजको मुख्य गेटबाहिर प्रदर्शन गरेका छन् ।
एमडी अध्ययनरत प्रथम वर्षदेखि अन्तिम वर्षसम्मका विद्यार्थीहरू आन्दोलनमा सहभागी भएका छन्। विद्यार्थीहरूले कलेजमा अध्ययनका क्रममा आफूहरूमाथि मानसिक दबाब र तनाव सिर्जना गर्ने गरिएको आरोप लगाएका छन्।
आन्दोलनरत विद्यार्थीहरूले कलेज प्रशासनले विभिन्न शीर्षकमा रकम कटौती गर्ने गरेको आरोपसमेत लगाएका छन्। उनीहरूले प्रशासनबाट धाकधम्की तथा दबाब दिने गरिएको दाबी गर्दै आफूहरूका समस्या सम्बोधन गर्न माग गरेका छन्।
विद्यार्थीहरूले शैक्षिक वातावरण सुधार, आफूहरूमाथि भइरहेको भनिएको दबाब अन्त्य तथा आर्थिक कटौतीलगायतका विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने विद्यार्थीहरूले बताएका छन्। आन्दोलनका कारण कलेज परिसरमा विद्यार्थी र प्रशासनबीच तनावको अवस्था देखिएको छ ।
विद्यार्थीहरूले लगाएका आरोपबारे नेशनल मेडिकल कलेज प्रशासनको आधिकारिक धारणा भने अहिलेसम्म सार्वजनिक भएको छैन।