बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा त्यसबाट निस्किएको छर्रा लागेर बारामा एक जना घाइते भएका छन् ।
सोमबार राति जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा भएको घटनामा ३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका हुन् । स्थानीय ३० वर्षीय गोविन्द ठाडा मगरले बाँदर धपाउने क्रममा पड्काएको भरुवा बन्दुकको छर्रा लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते उत्तमको वीरगंजस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल, गण्डकमा उपचार भइरहेको छ ।
सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टका अनुसार घटनाबारे जानकारी पाएपछि आफ्नै कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा गोविन्द ठाडा मगरलाई दुई नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका मगरमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।