साउदी अरेबियाले इस्लाम धर्मावलम्बीको पवित्र सहर मक्कातर्फ ड्रोन पठाइएको दाबी गर्दै घटनाको निन्दा गरेको छ। साउदी नेतृत्वको गठबन्धनका अनुसार मक्काको दक्षिणतर्फ आएको ड्रोनलाई प्रतिबन्धित हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै नियन्त्रणमा लिएर नष्ट गरिएको थियो ।
घटनापछि ५७ सदस्य राष्ट्र रहेको इस्लामिक सहयोग संगठन ओआईसी ले मक्का र मदिना क्षेत्रलाई लक्षित गतिविधिको निन्दा गरेको छ। ओआईसीले पवित्र स्थल तथा मस्जिदको सुरक्षामा खतरा उत्पन्न हुने कुनै पनि गतिविधिप्रति आपत्ति जनाउँदै साउदी अरबको सुरक्षाका लागि आवश्यक कदमको समर्थन गरेको जनाएको छ।
साउदी विदेश मन्त्रालयले मक्का, दुई पवित्र मस्जिद, तीर्थयात्री, नागरिक तथा आफ्नो भूभागको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने अधिकार रहेको जनाएको छ। साउदीले उक्त ड्रोन प्रकरणमा यमनका हुथी समूहलाई जिम्मेवार ठहर गरेको छ ।
अरब लिगका महासचिव नबिल फहमीले पनि मक्कातर्फ भएको भनिएको ड्रोन आक्रमण प्रयासको निन्दा गरेका छन्। उनले पवित्र स्थलको सुरक्षा र मर्यादा कायम राख्नु अत्यन्त संवेदनशील विषय भएको बताएका छन् ।
यता हुथी समूहले भने मक्का वा अन्य इस्लामिक पवित्र स्थललाई लक्षित गरी कुनै आक्रमण नगरेको दाबी गरेको छ। उसले साउदीको आरोप अस्वीकार गर्दै आफूहरूमाथि लगाइएको आरोपलाई गलत भनेको छ ।