वीरगन्जस्थित ज्ञानदा एकेडेमीमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिनन्दन गरिएको छ। कक्षा १२ का विद्यार्थीको आयोजनामा भएको कार्यक्रममा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै शैक्षिक यात्राका लागि शुभकामना दिइएको हो । कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो।
संस्थाका सीईओ तथा प्रिन्सिपल राजेन्द्र प्रसाद कोइरालाको अध्यक्षतामा भएको पहिलो चरणको कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल कोइरालाले सधैँझैँ आफ्नो ओझपूर्ण र ऊर्जावान् मन्तव्यमार्फत विद्यार्थी तथा शिक्षकहरूलाई निरन्तर मिहिनेत, अनुशासन र उत्कृष्ट भविष्य निर्माणका लागि प्रेरित गर्नुभयो।
कार्यक्रमका क्रममा कक्षा १२ का विज्ञान, व्यवस्थापन र कानुन संकायमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो। शिक्षा क्षेत्रमा सञ्चारमाध्यमबाट योगदान पु¥याएको भन्दै कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको दोस्रो चरणमा विद्यार्थीले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए। गीत, नृत्यलगायतका प्रस्तुतिमार्फत विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रमले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थी र कक्षा १२ का विद्यार्थीबीच परिचय तथा आत्मीयता बढाउन सहयोग पुगेको आयोजकले जनाएको छ।
कार्यक्रममा कक्षा १२ का विद्यार्थी रिजा श्रेष्ठ र सञ्जना चौरसियाले उद्घोषण गरेका थिए भने कार्यक्रम संयोजक वासिम हुसेनले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा एकेडेमीका प्राध्यापक, प्रशासनिक कर्मचारी, विद्यार्थी तथा सञ्चारकर्मीको उपस्थिति थियो।