जापानको आइची–नागोयामा आयोजित एसियाली खेलकुद ९एसियाड० शनिबारदेखि औपचारिक रूपमा शुरू हुँदैछ । उद्घाटन शनिबार नेपाली समयअनुसार, १४:४५ बजे हुनेछ ।
कोभिड महामारीको विकराल अवस्थाबीच टोकियोमा ओलम्पिक आयोजना भएको पाँच वर्षपछि जापानले पुनस् अर्को ठूलो खेलकुद महोत्सव आयोजना गरेको हो ।
एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सवको उद्घाटन भव्य हुने स्थानीय आयोजकले जनाएका छन् । यद्धपि, खर्च कटौतीको निर्णय र प्रतिकूल मौसमका कारण आयोजकहरु उत्तिकै दबाबमा पनि छन् ।
उद्घाटन समारोहको मार्चपास्टमा नेपालको राष्ट्रिय झण्डा बक्सिङ खेलाडी चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्नेछन् ।
चन्द्रबहादुर दुबईमा सम्पन्न आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता खेलाडी हुन् ।
मानमती भने १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली महिला कबड्डी टोलीले ऐतिहासिक कांस्य पदक जित्दाकी कप्तान हुन् ।
२०औँ एसियाडको उद्घाटन समारोहअघि नै फुटबल, महिला क्रिकेट, भलिबल, बास्कटेबल, सफ्टटेनिसलगायतका केही खेलका स्पर्धा भने शुरू भइसकेका छन् ।
एसियाली खेलकुदको यो संस्करण शुरू हुनुअघि नै विभिन्न समस्या पनि देखिन थालेका छन् । बाढीको जोखिम, एथलिट्स भिलेज (खेलाडी बस्ने ठाउँ) को कमजोरी, र आँधीको त्रासले आयोजकलाई निकै पिरोलेको छ ।
नागोयाका मेयर तथा खेलकुदका उप–अध्यक्ष इचिरो हिरोसावाले खर्च कटौतीका लागि ‘एथलिट्स भिलेज’ नबनाउने निर्णय लिइएको बताए ।
‘सुरुमा एथलिट्स भिलेज बनाउने योजना थियो । तर, त्यो निकै महँगो पर्ने देखियो,’ हिरोसावाले भनेका छन् । यसको विकल्पमा क्रुज सिप (पानीजहाज), कन्टेनर आवास र होटलहरूको प्रयोग गरिएको छ ।
यद्यपि, १७ हजार खेलाडी र प्रशिक्षकलाई व्यवस्थापन गर्ने यो नयाँ प्रयोग निकै चुनौतीपूर्ण बनेको छ । सामाजिक सञ्जालमा केही खेलाडीले कन्टेनर आवासको साँघुरो कोठा, साना बेड र चुहिने पाइपका बारेमा गुनासो गरिसकेका छन् ।
कोभिड महामारीका कारण टोकियो ओलम्पिक दर्शकविहीन रंगशालामा आयोजना भएकाले यसपटकको एसियाली खेलकुदलाई लिएर सर्वसाधारणमा भने निकै उत्साह देखिएको छ ।
उद्घाटन समारोहमा १० हजार सुरक्षाकर्मी परिचालन गरिने आयोजकले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका उद्घाटन समारोहमा प्रधानमन्त्री सानाए ताकाइचीको उपस्थिति रहने छैन ।
पालोमा मिजुहो स्टेडियममा हुने उद्घाटन समारोहमा जापानका सम्राट नारुहितो र साम्राज्ञी मासाकोको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ ।
उद्घाटन स्थलको एक किलोमिटर क्षेत्रलाई “नो–फ्लाई जोन” घोषणा गरिएको छ । यो परिधिभित्र ड्रोनसमेत उडाउन प्रतिबन्ध लगाइएको छ ।
कुनै पनि प्रकारणको अवांक्षित गतिविधिलाई रोक्न जापान सरकारले विशेष सूचना केन्द्र स्थापना गरी सामाजिक सञ्जालको समेत निगरानी गरिरहेको छ ।
१६ दिन अर्थात, अक्टोबर ४ तारिखसम्म चल्ने यो महाकुम्भमा ४५ राष्ट्रकाका करिब १७ हजार खेलाडी तथा अफिसियल सहभागी हुनेछन् ।
यसका अतिरिक्त, प्रतियोगितामा शरणार्थीहरुको एउटा टोलीले पनि सहभागिता जनाउने छ । एसियाली खेलकुदको इतिहासमा पहिलो पटक शरणार्थीहरुको टोली सहभागी हुन लागेको हो ।