वीरगंज–पोखरिया सडकखण्डअन्तर्गत विभिन्न स्थानमा सडक जीर्ण भएर गहिरा खाल्डाखुल्डी परेपछि सवारी दुर्घटनाको जोखिम बढेको छ ।
राजमार्गबाट एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) जाने सडक, सुक्खा बन्दरगाह जाने सडक तथा परवानीपुरतर्फ जाने सडकका विभिन्न स्थानमा ठूला खाल्डाखुल्डी परेपछि सवारी आवागमन प्रभावित भएको स्थानीय तथा चालकहरूले बताएका छन् ।
यी सडकमा दैनिक ठूलो सङ्ख्यामा मालवाहक ट्रक, ट्याङ्कर, कन्टेनर तथा साना सवारीसाधन आवतजावत गर्छन् । गहिरा खाल्डाखुल्डीका कारण चालकहरूले जोखिम मोलेर सवारी चलाउनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ ।
विशेषगरी रातिको समयमा खाल्डाखुल्डी नदेखिँदा सवारीसाधन अचानक खाल्डोमा फस्ने, अनियन्त्रित हुने तथा दुर्घटनामा पर्ने जोखिम बढेको स्थानीयले बताएका छन् ।
महीनौँदेखि सडकको अवस्था जीर्ण रहे पनि सम्बन्धित निकायले मर्मतसम्भारमा पर्याप्त ध्यान नदिएको चालक उमेश साहले गुनासो गरे । अत्यधिक मालवाहक सवारीसाधनको चाप हुने सडकमा खाल्डाखुल्डीका कारण सवारीको गति नियन्त्रण गर्नसमेत समस्या हुने गरेको उनले बताए ।
‘दैनिक ठूलो सङ्ख्यामा गाडी यही बाटो भएर आवतजावत गर्छन् । सडक बिग्रिएको लामो समय भइसक्यो, तर मर्मतका लागि सम्बन्धित निकायले चासो देखाएको छैन,’ साहले भने ।
स्थानीय यात्रु शनि पटेलले सडक प्रयोग गरेबापत कर तथा अन्य शुल्कसमेत असुल हुने गरे पनि सडक मर्मतमा पर्याप्त ध्यान नदिइएको गुनासो गरे । सडक आसपास ट्राफिक प्रहरी तथा नेपाल प्रहरीको उपस्थिति रहने भए पनि सडकको दुरवस्थाप्रति सम्बन्धित निकायको ध्यान जान नसकेको उनको भनाइ छ ।
व्यस्त व्यापारिक तथा औद्योगिक आवागमन हुने सडकमा खाल्डाखुल्डीका कारण सवारीसाधनमा क्षति पुग्नुका साथै दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको भनाइ छ ।
उनीहरूले तत्काल सडक मर्मत गरी खाल्डाखुल्डी पुर्न, सडकलाई सुरक्षित तथा व्यवस्थित बनाउन र नियमित अनुगमन एवं मर्मतसम्भारको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
सडकको अवस्था समयमै सुधार नगरिए आगामी दिनमा सवारी चापसँगै दुर्घटनाको जोखिम थप बढ्न सक्ने स्थानीय तथा चालकहरूले बताएका छन् ।