काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई कमजोर बनाउने प्रयास र विभिन्न प्रचार भए पनि एमाले आफ्नो काम र उद्देश्यमा दृढताका साथ अघि बढ्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले असोज ५, ६ र ७ गते बस्ने केन्द्रीय कमिटी बैठकबाट पार्टी एकता र आगामी कार्यदिशाको स्पष्ट सङ्कल्पसहित अघि बढ्ने बताए ।
उनले सञ्चारमाध्यममा पार्टी फुट्ने, नेतृत्व परिवर्तन हुने तथा अध्यक्ष र महासचिव तोकिइसकेको जस्ता समाचार आएको भन्दै त्यस्ता प्रचारले एमालेको यात्रामा कुनै असर नपार्ने दाबी गरे ।
ओलीले पार्टीभित्र विभाजन गराउने प्रयास सफल नहुने बताउँदै गायिका कुन्ती मुक्तानको गीतको प्रसङ्गसमेत उल्लेख गरे। उनले भने, ‘म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर ।’
महाभारतको प्रसङ्ग उल्लेख गर्दै ओलीले आफू भीष्म पितामहजस्तो ढलेर शय्यामा नगएको बताए । आफू अझै राजनीतिक मैदानमा रहेको उल्लेख गर्दै उनले ७४ वर्षको उमेरमा अमरसिंह थापा युद्धको मैदानमा रहेको प्रसङ्ग सुनाए। आफूले तरबार नभई कलम लिएर राजनीतिक सङ्घर्ष गरिरहेको उनको भनाइ थियो ।
ओलीले आफ्नो राजनीतिक जीवनमा धेरै चुनौती सामना गर्दै आएको उल्लेख गर्दै एमालेका नेता–कार्यकर्तालाई जनतामाझ जान र पार्टीको धारणा स्पष्ट पार्न आग्रह गरे ।
उनले संविधान, लोकतान्त्रिक प्रणाली र लोकतन्त्रको रक्षा अहिलेको प्रमुख कार्यभार भएको बताए। मुलुकलाई अराजकतातर्फ जान नदिन स्पष्ट राजनीतिक बाटो आवश्यक रहेको उनको भनाइ थियो ।