संविधान दिवसको अवसरमा युवा चिकित्सक डा. राजकुमार शाहले वीरगंजका विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरी समाजसेवाको उदाहरण प्रस्तुत गरेका छन् ।
वीरगंज महानगरपालिका–१० स्थित होली ल्यान्ड इंग्लिश बोर्डिङ स्कुलमा अध्ययनरत ८५ जना विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै डा. शाहले उनीहरूलाई स्वास्थ्यसम्बन्धी आवश्यक परामर्शसमेत दिएका छन् । विद्यार्थीलाई नियमित स्वास्थ्य सावधानी, खानपान तथा स्वस्थ जीवनशैलीका विषयमा जानकारी गराइएको थियो।
संविधान दिवसका अवसरमा भविष्यका नागरिक तथा देशका कर्णधार मानिने बालबालिकाको स्वास्थ्यप्रति सचेतना जगाउने उद्देश्यले स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको हो।
पछिल्लो समय त्रिभुवन राजपथ विस्तारका क्रममा उत्पन्न धुलो, धुवाँ तथा अन्य अवरोधका कारण वीरगंजवासीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे पनि विद्यार्थीलाई जानकारी गराइएको थियो। स्वास्थ्य परीक्षणमा सहभागी विद्यार्थी सञ्जय गुप्ताका अनुसार डा. शाहले सडक विस्तारका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिम र त्यसबाट बच्ने उपायबारे विद्यार्थीलाई सचेत गराएका थिए।
वीरगंजमै बसेर समाजसेवामा सक्रिय
धरानबाट एमबीबीएस तथा मणिपाल शिक्षण कलेजबाट बालरोगमा एमडी गरेका डा. राजकुमार शाह वीरगञ्जका स्थानीय बासिन्दा हुन्। आफू जन्मे–हुर्केको ठाउँप्रतिको माया र सामाजिक जिम्मेवारीलाई प्राथमिकतामा राख्दै उनले वीरगंजमै क्लिनिक सञ्चालन गर्दै आएका छन्।
वीरगंजबाहिरका विभिन्न अस्पतालबाट आकर्षक तलब तथा सुविधासहितका अवसर आए पनि उनले आफ्नै ठाउँमा बसेर चिकित्सा सेवा र समाजसेवालाई निरन्तरता दिँदै आएको बताइएको छ।
‘सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने भावनाका साथ डा. शाहले विभिन्न अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
यसअघि कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसरमा ९५ जना विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका डा. शाहले संविधान दिवसको अवसरमा ८५ जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरेका हुन् ।
सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने चाहना
होली ल्यान्ड इंग्लिश बोर्डिङ स्कुलमा अध्ययनरत सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने इच्छा व्यक्त गर्दै डा. शाहले विद्यालयसमक्ष आग्रह गरेका थिए ।
विद्यालयका सञ्चालक शारदा शंकर प्रसाद गुप्ताले डा. शाहको सेवाभाव, लगनशीलता तथा स्वास्थ्य परीक्षण र उपचार पद्धतिको प्रशंसा गर्दै स्वास्थ्य परीक्षण गर्न छुटेका विद्यार्थीको पनि भोलि आइतबार निःशुल्क स्वास्थ्य परीक्षण गरिने जानकारी दिएका छन्।
विद्यार्थीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर गरिएको यस्तो पहलले चिकित्सक र विद्यालयबीचको सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाएको छ। संविधान दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी बालबालिकाको स्वास्थ्य र भविष्यसँग जोडेर मनाइएको यस अभियानले सकारात्मक सन्देश दिएको छ।
भिडियाे रिपाेर्ट