राफिन्हाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि बार्सिलोनाले ला लिगामा सेभियामाथि सहज जित निकाल्दै शीर्ष स्थानमा आफ्नो अग्रता थप फराकिलो बनाएको छ ।
रामोन सान्चेज पिजुआन रंगशालामा भएको खेलमा बार्सिलोनाले सेभियालाई ३–१ ले पराजित गर्दा राफिन्हाले उत्कृष्ट फिनिसिङ गर्दै यस सिजन सबै प्रतियोगितामा आफ्नो गोल संख्या १४ पुर्याए ।
उनले गत बुधबार रेसिङ सान्टान्डरमाथि ७९२ को जितमा पनि ह्याट्रिक गरेका थिए ।
जितसँगै बार्सिलोनाको २१ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको रियल बेटिसभन्दा बार्सिलोना ६ अंकले अघि छ । यद्यपि, बार्सिलोनाले दुवै टोलीभन्दा एक खेल बढी खेलेको छ ।
सेभियाले खेलको १९औँ मिनेटमा युसुफ फोफानाको गोलमार्फत अग्रता लिएको थियो । फेलिक्स कोरेइयाको क्रसमा फोफानाले नजिकको पोस्टतर्फ हेड गर्दै गोल गरेका थिए ।
तर त्यसको तीन मिनेटमै राफिन्हाले बार्सिलोनालाई खेलमा फर्काए । उनले भित्रतर्फ मोडिँदै सेभियाका गोलकिपर ओडिसेयास भ्लाचोडिमोसलाई कुनै मौका नदिई बल जाली चुमाए ।
५२औँ मिनेटमा लामिन यामलको उत्कृष्ट प्रयासमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गरे । यामलले बल लिएर अघि बढ्दै क्रस निकाल्दा राफिन्हाले हेडमार्फत गोल गरेका थिए ।
६९औँ मिनेटमा यामलले नै उत्कृष्ट पास निकाल्दै राफिन्हालाई गोलको अवसर बनाए । राफिन्हाले गोलकिपर भ्लाचोडिमोसको टाउकोमाथिबाट बल चिप गर्दै ह्याट्रिक पूरा गरे ।
यो बार्सिलोनाको ला लिगामा लगातार सातौँ तथा सबै प्रतियोगितामा लगातार आठौँ जित हो । हारपछि सेभिया १३ अंकसहित पाँचौँ स्थानमा यथावत् छ ।