इरानले अमेरिकासँग वार्ता अघि बढाउन तीनवटा प्रमुख सर्त अघि सारेको जनाएको छ ।
इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईका अनुसार कतार र पाकिस्तानका मध्यस्थमार्फत अमेरिकासमक्ष आफ्ना सर्तहरू पठाइएको छ र अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रियाको प्रतीक्षा गरिएको छ ।
बीबीसीका अनुसार इरानका सर्तमा सबै मोर्चामा युद्ध अन्त्य, इरानका रोक्का गरिएका सम्पत्ति फुकुवा र नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने माग छन् ।
इरानले कतार र पाकिस्तानी मध्यस्थसँग निरन्तर परामर्श गरिरहेको रेजाईले बताएका छन् ।
तर रेजाईले वार्ताको सन्देशसँगै सैन्य चेतावनी पनि दिएका छन् । इरानमाथि पुनः आक्रमण भए क्षेत्रका अमेरिकी सैन्य अड्डाहरूलाई अझ शक्तिशाली रूपमा निशाना बनाउने उनले चेतावनी दिएका छन् ।
परमाणु कार्यक्रमबारे रेजाईले इरानले अहिलेसम्म परमाणु अप्रसार सन्धि ९एनपीटी० बाट बाहिरिने निर्णय नगरेको बताएका छन् । यसबारेको आगामी निर्णय अमेरिकाको व्यवहारमा निर्भर रहने उनको भनाइ छ ।
उनले इरानले परमाणु हतियारसम्बन्धी पूर्व सर्वोच्च नेता अयातोल्लाह रुहोल्लाह खोमेनीको फतवा (औपचारिक कानुनी आदेश) लाई अझै पालना गरिरहेको र परमाणु नीतिमा कुनै परिवर्तन नगरेको दाबी गरे ।
यद्यपि भविष्यमा अवस्था कस्तो हुन्छ भन्नेबारे आफूहरूले निश्चित भन्न नसक्ने उनले बताएका छन् ।
यसैबीच रेजाईले साउदी अरब र यमनबीचको युद्ध अन्त्य गर्न पनि आह्वान गरेका छन् ।
यमनका हुथी विद्रोही पनि साउदी अरबसँग सम्झौतामा पुग्न इच्छुक रहेको आफूहरूको बुझाइ रहेको उनले बताएका छन् ।