बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। केही क्षेत्रमा भारीदेखि अत्यधिक वर्षा हुन सक्ने सम्भावना औँल्याउँदै पूर्वतयारी र सतर्कता अपनाउन सुझाव दिइएको छ ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडेलको अध्ययन गर्दा असोज ८ देखि १२ गतेसम्म देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना देखिएको बताएका छन् ।
उनका अनुसार केही पूर्वानुमान मोडेलले उक्त अवधिमा ४०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने संकेत गरेका छन्। केही मोडेलमा ७४१ मिलिमिटरसम्म वर्षा हुने सम्भावना देखिए पनि यस्तो वर्षा देशभर समान रूपमा नहुने र निश्चित क्षेत्रमा बढी केन्द्रित हुन सक्ने उनले बताएका छन् ।
पोखरेलले यो पूर्वानुमान डर फैलाउन नभई सम्भावित जोखिमका लागि समयमै तयारी गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सार्वजनिक गरिएको बताएका छन् ।
८ देखि १० असोजसम्म विशेष सतर्कता आवश्यक
मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि बंगालको खाडीमा विकसित भइरहेको प्रणालीलाई नजिकबाट निगरानी गर्नुपर्ने बताएका छन्। उनका अनुसार हाल उपलब्ध केही मौसम पूर्वानुमान मोडेलले असोज ८ देखि ११ गतेसम्मको अवस्थालाई संवेदनशील देखाएका छन् ।
असोज १० गते वर्षाको जोखिम बढी हुन सक्ने संकेत देखिए पनि अहिलेको पूर्वानुमानलाई अन्तिम निष्कर्षका रूपमा लिन नहुने उनको भनाइ छ। मौसमी प्रणालीको दिशा, शक्ति र विकासक्रममा परिवर्तन आउन सक्ने भएकाले वास्तविक अवस्था आगामी दिनमा थप स्पष्ट हुने उनले बताएका छन् ।
उनले सम्भावित जोखिमलाई लिएर सर्वसाधारणलाई नआत्तिन तर उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी असोज ८, ९ र १० गते लामो दूरीको यात्रामा सावधानी अपनाउनुपर्ने उनको सुझाव छ।
मौसम विभागको निगरानी जारी
जल तथा मौसम विज्ञान विभागले भने बंगालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यस्ता प्रणाली कहिलेकाहीँ कमजोर हुने वा आफ्नो दिशा परिवर्तन गर्ने सम्भावना हुन्छ। त्यसैले अहिले नै नेपालमा हुने वर्षाको निश्चित मात्रा, भौगोलिक वितरण र जोखिमको स्तरबारे अन्तिम निष्कर्ष निकाल्न नसकिने उनले बताएका छन्।
मौसमी प्रणालीको विकासक्रमबारे थप स्पष्ट भएपछि विभागले आवश्यक सूचना तथा पूर्वानुमान औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ।
धानबालीमा असर पर्न सक्ने
सम्भावित रूपमा भारी वर्षा भएमा कृषि क्षेत्रमा समेत असर पर्न सक्ने मौसमविद्हरूले बताएका छन्। विशेषगरी पाक्ने अवस्थामा रहेको धानबालीमा वर्षाले क्षति पुर्याउन सक्ने भएकाले किसानलाई आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।
यसैबीच, बंगालको खाडीमा विकसित भइरहेको प्रणाली थप शक्तिशाली हुँदै चक्रवातमा परिणत भएमा यसको नाम ‘अर्नब’ राखिनेछ। उक्त नाम बंगलादेशले प्रस्ताव गरेको हो।