भारतको बिहारस्थित पूर्वी चम्पारणको मोतिहारी जिल्ला अदालतले लागूऔषधसम्बन्धी मुद्दामा एक नेपाली नागरिकलाई १० वर्षको कठोर कारावास सजाय सुनाएको छ । अदालतले दोषी ठहर भएका व्यक्तिलाई १ लाख भारतीय रुपैयाँ जरिवानासमेत तोकेको छ ।
सजाय पाउनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ गमरगामाका अनुज मण्डल रहेको भारतीय प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रक्सौल थाना काण्ड नम्बर २२७/२३ तथा लागूऔषध मुद्दा नम्बर ४२/२३ मा अनुसन्धान पूरा गरेपछि मण्डलविरुद्ध प्रमाणसहित आरोपपत्र अदालतमा पेस गरिएको थियो। सोही मुद्दामा भएको सुनुवाइपछि अदालतले उनलाई दोषी ठहर गरेको हो ।
मोतिहारीस्थित लागूऔषध कोर्ट–१ की न्यायाधीश रेशमा वर्माले शनिबार भारतीय एनडीपीएस ऐनअन्तर्गत मण्डललाई १० वर्षको कठोर कारावास र १ लाख भारतीय रुपैयाँ जरिवानाको फैसला सुनाएको प्रहरीले जनाएको छ।
मुद्दामा विशेष लोक अभियोजक डा. शम्भु शरण सिंहले सरकारका तर्फबाट बहस गरेका थिए ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायले निगरानी तथा कारबाही बढाउँदै आएका छन्। खुला सीमाका कारण सीमापार लागूऔषध कारोबार नियन्त्रण सुरक्षा निकायका लागि चुनौती बन्दै आएको छ ।
रक्सौल–वीरगञ्ज नाका आसपासमा पनि लागूऔषध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निगरानी बढाइएको भारतीय पक्षले जनाएको छ। सीमापार लागूऔषधसम्बन्धी कसुरमा पक्राउ पर्ने नेपाली नागरिकमाथि भारतको कानुनअनुसार अनुसन्धान तथा न्यायिक प्रक्रिया अघि बढ्ने गरेको छ ।
मण्डलविरुद्धको पछिल्लो फैसला पनि त्यही प्रक्रियाअन्तर्गत भएको भारतीय प्रहरीको भनाइ छ।