सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । चिकित्सक टोलीले उनको शरीरमा अड्किएको गोली निकालिएको जनाएको छ ।
शनिबार साँझ देवानगन्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा गोली प्रहारबाट घाइते भएका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको आइतबार बिहान शल्यक्रिया गरिएको हो।
नोबेल शिक्षण अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. रञ्जिव झाको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरी यादवको शरीरमा अड्किएको गोली निकालेको हो। चिकित्सकका अनुसार यादवको अवस्था अहिले मध्यम रहेको छ ।
यादवको कम्मरमुनिको दायाँ पछाडिको भागमा गोली लागेको थियो। स्थानीयका अनुसार उनी छिमेकी तथा भतिजा पर्ने विवेककुमार यादवसँग मोटरसाइकलमा हरिनगर बजारबाट घर फर्किरहेका बेला लक्ष्मीनारायण मन्दिरअगाडि गोली प्रहार भएको थियो ।
घटनापछि प्रहरीले देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय लाली भनिने जयकृष्ण यादवलाई पक्राउ गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनामा पाँचदेखि छ जनासम्मको संलग्नता रहेको खुलेको छ ।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा केही दिनअघि युवतीको विषयलाई लिएर युवाहरूबीच भएको विवाद तथा त्यसबाट उत्पन्न रिसइबीका कारण घटना भएको देखिएको उनले बताए ।
घटनापछि गोली प्रहार गाँजा तस्करीसँग सम्बन्धित रहेको हल्ला चले पनि अनुसन्धानका क्रममा अहिलेसम्म त्यस्तो सम्बन्ध पुष्टि नभएको प्रहरीले जनाएको छ ।
घटनामा प्रयोग भएको हतियार र गोलीको प्रकृति भने प्रयोगशाला परीक्षणपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ। पक्राउ परेका दुई जनामाथि अनुसन्धान जारी राख्दै प्रहरीले फरार रहेका अन्य व्यक्तिको खोजी तीव्र बनाएको डीएसपी खड्काले बताए।