पर्साको पटेर्वा सुगौली गाउँपालिकामा रहेको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको श्री श्री १०८ श्री दुधेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिको २०औँ साधारण सभा सम्पन्न भएको छ ।
पटेर्वा सुगौली–२ स्थित बेलवा थारु अतिथि सदनमा समितिका अध्यक्ष अलखदेव प्रसाद थारुको अध्यक्षतामा सम्पन्न सभामा मन्दिर संरक्षण, व्यवस्थापन, पूर्वाधार विकास, धार्मिक पर्यटन प्रवद्र्धन तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो ।
सभामा सहभागीहरूले दुधेश्वरनाथ मन्दिरलाई केवल धार्मिक स्थलका रूपमा सीमित नराखी धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, वन्यजन्तु र स्थानीय संस्कृतिलाई जोडेर व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
पर्सा राष्ट्रिय निकुञ्जको पहाडी तथा जंगल क्षेत्रमा अवस्थित मन्दिर आसपासको प्राकृतिक सौन्दर्यलाई पर्यटनसँग जोडेर विकास गर्न सकिने सहभागीहरूको भनाइ थियो । हरियाली जंगल, तालतलैया, नदी, वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन गर्न सकिने भएकाले आवश्यक पूर्वाधार निर्माण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने उनीहरूले बताएका थिए ।
मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनसँगै प्रकृति तथा वन्यजन्तु पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने योजनाअन्तर्गत करिब १२ किलोमिटर जंगल क्षेत्रमा होमस्टे, होटल, कटेज, खाजा–नास्ता तथा पूजा सामग्रीका पसल सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ ।
स्थानीय समुदायलाई पर्यटनसँग प्रत्यक्ष जोडेर रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले होमस्टे तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने योजना अघि सारिएको हो । यसबाट स्थानीय उत्पादन, कृषि उपज तथा घरेलु सामग्रीको बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, पर्यटक तथा भक्तजनलाई आकर्षित गर्न जिप तथा हात्ती सफारी सञ्चालन गर्ने योजनामाथि पनि छलफल भएको छ । मन्दिरसम्म पुग्ने सडक पूर्वाधारलाई प्राथमिकता दिँदै चर्भैया पोस्टबाट करिब ७ किलोमिटर दूरीमा रहेको मन्दिरसम्म सुविधासम्पन्न ग्राभेल सडक निर्माण गर्ने योजना अघि सारिएको छ ।
दीर्घकालीन योजनाअन्तर्गत मन्दिरसम्म केवलकार निर्माण गर्ने सम्भावनाबारे समेत छलफल गरिएको छ । सडक र केवलकारजस्ता पूर्वाधार निर्माण हुन सके टाढाबाट आउने भक्तजन तथा पर्यटकलाई मन्दिरसम्म पुग्न सहज हुने र क्षेत्रको पर्यटन गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता चौधरीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले दुधेश्वरनाथ मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँपालिकाले आवश्यक पहल तथा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले मन्दिर क्षेत्रको विकासका लागि स्थानीय तहबाट गर्न सकिने कामसँगै प्रदेश तथा संघीय सरकारका सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पूर्वाधार निर्माण तथा पर्यटन प्रवद्र्धनमा पहल गरिने बताए ।
सभामा मेला समितिका संस्थापक अध्यक्ष राजेश्वर महतो, समिति सदस्यहरू सम्भु यादव, मनोज यादव तथा शिक्षक शिवनाथ चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मन्दिर निर्माण, संरक्षण तथा व्यवस्थापनमा योगदान पुर्याएका आजीवन सदस्य तथा विभिन्न सरोकारवालालाई सम्मानसमेत गरिएको थियो ।
साधारण सभा विश्वजित प्रसाद थारुले सञ्चालन गरेका थिए। सभाले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले उद्घाटन सत्रपछि समिति गठन तथा नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको थियो । मेला समिति सदस्य तथा मन्दिर व्यवस्थापनका आजीवन सदस्य एवं सञ्चारकर्मी प्रमोद यादवका अनुसार नयाँ नेतृत्व चयनको प्रक्रिया अबेर रातिसम्म चल्ने जनाइएको थियो ।
धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, वन्यजन्तु, स्थानीय संस्कृति र समुदायको सहभागितालाई एकीकृत गर्दै पूर्वाधार विकास गर्न सके दुधेश्वरनाथ क्षेत्रलाई पर्साको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सहभागीहरूको धारणा थियो ।