रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएको २४ दिनपछि वीरगंज महानगरपालिका–२२ जगरनाथपुरका बेपत्ता परिवारसँग महानगरपालिकाका मेयर राजेशमान सिंह र पूर्वमन्त्री प्रदीप यादवले भेट गरेका छन् ।
भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको अचानकको बाढीमा जगरनाथपुरको एउटै टोलका ६ जना बेपत्ता भएका थिए। बाढी आएको २४ दिन बितिसक्दा पनि उनीहरूको अवस्था अझै अज्ञात छ ।
आइतबार वडा नं. २२ स्थित जगरनाथपुर पुगेका मेयर सिंह र पूर्वमन्त्री यादवले बेपत्ता परिवारका सदस्यसँग भेट गरी उनीहरूको अवस्थाबारे जानकारी लिएका हुन् । उनीहरूले बेपत्ताको खोजीका क्रममा भएका प्रयास, परिवारले भोगिरहेका समस्या तथा तत्काल आवश्यक सहयोगबारे समेत जानकारी लिएका थिए ।
बाढीमा बेपत्ता हुनेमा २१ वर्षीय साहबुद्दिन मन्सुरी, २० वर्षीय राहुल मियाँ, १४ वर्षीय सरताज मियाँ, १७ वर्षीय समिम आलम, २० वर्षीय सर्फराज मियाँ र १६ वर्षीय रिजवान अन्सारी रहेका छन् ।
साहबुद्दिन, राहुल, सरताज, समिम र सर्फराज टिमुरेस्थित मोटरसाइकल ग्यारेजमा काम गर्न पुगेका थिए। रिजवान भने बेत्रावती–१० स्थित अन्सारी मोटरसाइकल वर्कसपमा काम गर्न पुगेका थिए । बाढी आएपछि उनीहरू परिवारको सम्पर्कमा आएका छैनन् ।
बेपत्ताको पहिचानका लागि परिवारका सदस्यहरूले भेटिएका शवसँग डीएनए परीक्षणमार्फत मिलान गर्न रगतको नमुनासमेत बुझाएका छन् । तर, हालसम्म उनीहरूको अवस्थाबारे कुनै निश्चित जानकारी प्राप्त हुन सकेको छैन ।
भेटका क्रममा मेयर सिंह र पूर्वमन्त्री यादवले बेपत्ता परिवारलाई आवश्यक सहयोगका लागि आफूहरूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । परिवारले भने लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता लाग्न नसकेपछि खोजी कार्यलाई थप प्रभावकारी बनाउन र राज्यका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन माग गरेका छन् ।