जनमत पार्टीको अध्यक्ष पदमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि राउतको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
राउतले अध्यक्ष पदमा आफ्नो मात्र उम्मेदवारी परेको जानकारी दिँदै विधानअनुसार आफूले २० प्रतिशत थ्रेसहोल्ड मत प्राप्त गर्नुपर्ने बताएका छन् ।
जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी ९ र १० असोजमा वीरगंजमा हुँदैछ। महाधिवेशनबाट अध्यक्षसहित १७ जना पदाधिकारी रहेको १५१ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ ।
पार्टीका अनुसार केन्द्रीय समितिका १५० सदस्यमध्ये १०० पदमा प्रत्यक्ष निर्वाचन हुनेछ। अध्यक्षबाहेक पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि १० असोजमा मतदान गर्ने कार्यतालिका तय गरिएको छ ।
नयाँ विधानको मस्यौदामा केन्द्रीय समितिमा कम्तीमा ३३ प्रतिशत युवा र पुरुषको सहभागिता सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरिएको राउतले बताएका छन् ।
महाधिवेशनबाट अध्यक्ष १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव १ र सचिव ७ गरी १७ सदस्यीय पदाधिकारीसहितको केन्द्रीय समिति निर्वाचित हुनेछ। जनमतले बुधबार मतदाता नामावली प्रकाशन गर्ने र १ असोजमा उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका बनाएको छ ।
जनमत पार्टीको पहिलो महाधिवेशन २०७७ चैत २८ गते जनकपुरको बाह्रबिघामा भएको थियो। उक्त महाधिवेशनबाट राउत अध्यक्षमा निर्वाचित भएका थिए ।
अमेरिकाबाट नेपाल फर्किएपछि राउतले ‘स्वतन्त्र मधेश’ अभियान सञ्चालन गरेका थिए। त्यसक्रममा उनी २०७५ असोजमा पक्राउ परेका थिए र करिब पाँच महिना जेल बसेका थिए।
पछि २०७५ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग ११ बुँदे सहमति गरेपछि राउत मूलधारको राजनीतिमा आएका थिए। सो सहमतिपछि उनले नेपालको संविधान स्वीकार गर्दै लोकतान्त्रिक मूलधारको राजनीतिमा सहभागी हुने घोषणा गरेका थिए।