सामाजिक सञ्जालमार्फत अशिष्ट, तथ्यहीन तथा आधारहीन सामग्री प्रसारण गरी विभिन्न व्यक्तिको चरित्रहत्या गरेको आरोपमा युट्युबर मनोजकुमार महतो पक्राउ परेका छन् ।
सिरहा प्रहरीले उदयपुर प्रहरीको सहयोगमा आइतबार दिउँसो चतरा पुलस्थित एक होटलबाट महतोलाई नियन्त्रणमा लिएको हो। लहान नगरपालिका–२४ निवासी महतोविरुद्ध सिरहा प्रहरीमा साइबर अपराध तथा सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।
सिरहा प्रहरीका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार दर्ता भएको जाहेरीका आधारमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार महतोले लामो समयदेखि जनप्रतिनिधि, पत्रकार, उद्योगी–व्यवसायी, राजनीतिकर्मी तथा कर्मचारीलगायत विभिन्न व्यक्तिलाई लक्षित गर्दै सामाजिक सञ्जालमा विवादास्पद सामग्री सार्वजनिक गर्दै आएका थिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफूसँग स्वचालित हतियार रहेको दाबी गर्दै हतियारको तस्बिर देखाएर केही व्यक्तिलाई धम्की दिने तथा आपराधिक लाभ लिएको तथ्यसमेत खुलेको प्रहरीको भनाइ छ ।
महतोलाई यसअघि पनि विभिन्न घटनामा पक्राउ गरिएको र उनीविरुद्धका केही मुद्दा अदालतमा विचाराधीन रहेको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमार्फत महतोबाट पीडित भएको भए जिल्ला प्रहरी कार्यालय सिरहामा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।