जुम्लामा प्रहरीले ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। चन्दननाथ नगरपालिका–१० बोहोरा गाउँबाट प्रहरीले १६ ग्राम ४६० मिलिग्राम उक्त पदार्थ बरामद गरेको हो ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक निर्देश बरालको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा स्थानीय २५ वर्षीय केशव देवकोटा र गुठिचौर गाउँपालिका–४ स्थायी घर भई मामाघरमा बस्दै आएका १७ वर्षीय नवीन न्यौपानेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार देवकोटाको घरको कोठाबाट प्लास्टिकमा पोको पारेर राखिएको धुलो पदार्थ बरामद गरिएको थियो। परीक्षणका लागि नापतौल गर्दा उक्त पदार्थको तौल १६ ग्राम ४६० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।
चेकजाँचका क्रममा देवकोटाले बरामद पदार्थमध्ये केही मुखमा राखेर निलेका थिए। त्यसपछि शरीरमा लागुऔषधको मात्रा बढेको आशंका भएपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
न्यौपानेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।