जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–८ का २६ वर्षीय सुधिरा मुखिया बिन र औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया रहेका छन्। सुधिरा सामाजिक सञ्जालमा टिकटकरका रूपमा समेत परिचित रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बर्थिङ सेन्टरमा उपचारका लागि आएकी महिलाका आफन्त र ड्युटीमा रहेका चिकित्सक डा. सरोज साहबीच विवाद भएको थियो। विवादका क्रममा चिकित्सकमाथि हातपात भएको सूचना पाएपछि प्रहरी टोली अस्पताल पुगेको थियो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालत धनुषाबाट तीन दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताएका छन् ।
प्रहरीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा ३ ग अन्तर्गत घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। उक्त कसुर प्रमाणित भए तीन वर्षसम्म कैद, तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।
सुधिराले जनकपुरधामको बजरंग चोकमा होटलसमेत सञ्चालन गर्दै आएको बताइएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।