काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि रोकिएको यात्रुवाहक बसमा आगलागी भएको घटनामा चालककै संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा चालक २५ वर्षीय दावा लामा बसभित्रै रहेको प्रहरीले जनाएको छ। काभ्रे घर भएका लामालाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानमा आगो चालकबाटै लगाइएको हुन सक्ने देखिएको छ। घटनाको वास्तविक कारण भने विस्तृत अनुसन्धानपछि मात्र खुल्ने प्रहरीको भनाइ छ ।
काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेले पनि चालकले नै बसमा आगो लगाएको हुन सक्ने आशंका गरिएको जानकारी दिएका छन्। उनका अनुसार अहिलेसम्मको अनुसन्धानले त्यस्तो देखाए पनि घटनाको यकिन कारणबारे थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले आगलागीअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको हुन सक्ने कोणबाट समेत अनुसन्धान गरिरहेको जनाएको छ। यद्यपि आगो लगाउनुको वास्तविक कारण अहिलेसम्म पुष्टि भएको छैन ।
बसमा लागेको आगो सशस्त्र प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।