बारामा मोटरसाइकलमा सवार रहेका बेला बाटोमा सर्प देखिएपछि हाम फालेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका–८ स्थित आरएमसी कम्पनी नजिकै असोज २ गते भएको घटनामा घाइते भएका स्थानीय २४ वर्षीय राजु सहनीको काठमाडौंस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रमौलीबाट जितपुरतर्फ आउँदै गरेको मोटरसाइकलमा सहनी पछाडि बसेका थिए। मोटरसाइकल गुडिरहेका बेला अचानक सडकमा सर्प देखिएपछि उनी आत्तिएर मोटरसाइकलबाट हाम फालेका थिए।
हाम फाल्दा गम्भीर घाइते भएका सहनीलाई तत्काल उपचारका लागि काठमाडौंस्थित न्यूरो अस्पताल लगिएको थियो। सघन उपचार कक्षमा उपचाररत उनको असोज ४ गते आइतबार दिउँसो १२ः५४ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।