रक्सौल । भारतको रक्सौलस्थित प्रसिद्ध सिद्धपीठ दक्षिणमुखी हनुमान मन्दिरमा चोरी भएको छ ।
हरैया थाना क्षेत्र तथा भारतीय महावाणिज्य दूतावासको आवास क्षेत्र नजिक रहेको मन्दिरमा गएराति चोरहरूले प्रवेश गरी भगवानको चाँदीको मुकुट, चरण पादुका तथा दानपेटीमा रहेको रकमसहित विभिन्न सामग्री चोरी गरेका हुन् ।
बिहान पुजारी मन्दिर पुगेपछि ताला फुटेको देखेपछि घटनाबारे जानकारी भएको थियो। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।
सूचनापछि हरैया थाना प्रहरी घटनास्थलमा पुगेर घटनाको अनुसन्धान थालेको छ। प्रहरीले मन्दिर आसपासको क्षेत्र तथा उपलब्ध सीसीटीभी फुटेजका आधारमा चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।
सीमा क्षेत्रमा रहेको उक्त मन्दिरमा दैनिक ठूलो संख्यामा भक्तजन आउने गरेका छन् । नेपालसहित विभिन्न स्थानबाट भक्तजन तथा व्यवसायीसमेत दर्शनका लागि आउने मन्दिरमा चोरी भएपछि स्थानीय तथा भक्तजनले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन् ।
मन्दिरमा जडान गरिएका सीसीटीभी तथा अन्य सुरक्षा व्यवस्थाको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।